मंसिर १६ सिमरा : बाराको जितपुरसिमरा उप–महानगरपालिका–३ का स्थानीयवासीले मुख्य सडक खण्डमा निरन्तर भइरहेका दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै तत्काल आकाशे पुल (ओभरहेड ब्रिज) निर्माण गर्न उप–जीतपुरसिमरा महानगरपालिकालाई लिखित रूपमा आग्रह गरेका छन्। उनीहरूले नगर प्रमुख राजन पौडेललाई बुझाएको पत्रमा पछिल्ला वर्षहरूमा सडक वारपार गर्ने क्रममा कैयौँ सर्वसाधारण घाइते भएको तथा केहीको ज्यानसमेत गएको उल्लेख गर्दै अत्यधिक व्यस्त र तीव्र गतिमा सवारी चल्ने उक्त क्षेत्रमा पैदल यात्रीको सुरक्षा जटील बनेको बताएका छन्।
विद्यालय तथा बजार क्षेत्र नजिकै पर्ने हुँदा विद्यार्थी, महिला, वृद्धवृद्धा दैनिक जोखिमको सामना गर्दै सडक पार गर्न बाध्य रहेको स्थानीयवासीको भनाइ छ। बारम्बार सचेत गराउँदा पनि आवश्यक संरचनागत पूर्वाधार निर्माण नभएकाले दुर्घटना जोखिम झन् बढ्दो क्रममा रहेको स्थानीयहरूको आरोप छ। यही कारणले उनीहरूले मानव जीवनको मूल्य र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै आकाशे पुल निर्माणका लागि तत्काल अध्ययन, योजना निर्माण तथा बजेट व्यवस्था गर्न उप–महानगरपालिकालाई अनुरोध गरेका हुन्। स्थानियवासीले आवश्यक परे उप–महानगरपालिकालाई समन्वय र सहयोग गर्न तयार रहेको बताएका छन्।

