अखिलेश कुमार यादव । मंसिर १७ सिमरा ः बाराको पथलैया स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको मुख्य गेटअगाडि बुधबार पराल तथा भुस बोकेका ट्रक चालकहरू धर्नामा बसेपछि राजमार्गमाज्गलमचभमक या मालवाहक सवारी अवरुद्ध भएका छन्। मंगलबारदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा ट्राफिक प्रहरीले यस्ता गाडीहरूलाई ‘ओभरलोड’ को नाममा अनावश्यक रोकतोक र जरिवाना गर्न खोजेको भन्दै चालकहरू आन्दोलित बनेका हुन्।

चालक गौतम मोक्तानका अनुसार पहिले कुनै रोकटोकबिना चल्दै आएका पराल र भुस बोकेका गाडीहरूलाई अचानक पक्राउ गरी जरिवाना थोपर्न खोजिएपछि विवाद बढेको हो। प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले पथलैयामा जिम्मेवारी सम्हालेपछि भारतीय ओभरलोड ट्रकसँग पैसा लिएर छुट दिने तर नेपाली चालकहरूलाई साना–सानामै दुःख दिने गरेको पनि अभियोग छ। चालकहरूले चिट नदेखाइदिए मात्र २५ सय रुपैयाँ ‘घुस’ तिर्नुपर्ने बाध्यता बनाइएको दाबी गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर प्रतिनिधि नवराज कार्कीले ट्राफिक प्रहरी एकै ठाउँमा मात्र नभई थुप्रै बिन्दुमा जाँच गर्न खटाइएपछि ढुवानी व्यवसायी र चालकहरू पीडित बनेको बताए। बारामा मात्रै डेढ सयभन्दा बढी ट्रक सडकमै रोकिएपछि पराल तथा भुस ढुवानी प्रभावित भएको छ। तराईका जिल्लाबाट हेटौंडा, चितवन, धादिङ, काठमाडौं र पोखरातर्फ जान लागेका गाडीहरू समेत अवरुद्ध भएको चालकहरूको भनाइ छ। यता, नेपाल च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले पशुपालन तथा च्याउ खेतीमा प्रयोग हुने पराल भण्डारण गर्ने महत्वपूर्ण सिजनमा ट्राफिकले अवरोध गरेपछि किसानसमेत मारमा परेको बताए।

आरोपका बीच राजमार्ग ट्राफिक कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवाल भने आफ्नातर्फबाट कुनै गैरकानुनी कार्य नभएको दाबी गर्छन्। उनका अनुसार भुस तथा परालले ट्रकको उचाइ अत्यधिक बढाएकाले विद्युतीय तारमा ठोक्किन सक्ने, सडकमा जोखिम बढ्ने र दुर्घटना हुने सम्भावना रहेकाले नियन्त्रणका लागि चेकजाँच गरिएको हो। उनले “जरिवाना बाहेक चालकसँग एक रुपैयाँ पनि नलिएको” बताए। चालकहरूको अनुसार ट्राफिक प्रहरीको दोहोरो व्यवहार भारतीय ओभरलोड ट्रकलाई सजिलै छोड्ने तर नेपाली गाडीमाथि कडाइ गर्नेका कारण व्यवसायी त्रसित बन्दै गएको छ। लगातारको विवाद र अविश्वास बढेपछि चालकहरू धर्नामा बस्न बाध्य बनेका हुन्।

