मंसिर १९ कलैया ः बारा जिल्लामा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले आफ्नै कार्यकालको मुख्य दिशा खुला सीमा क्षेत्रमा कडाइ, सुशासनयुक्त कार्यशैली, कडा जवाफदेहीता र पारदर्शी सेवा प्रवाह हुने स्पष्ट घोषणा गरेका छन्। शुक्रबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा एसपी कुँवर ले बारा जस्तो संवेदनशील जिल्लामा अपराध नियन्त्रण र तस्करी रोकथामका लागि सम्झौतारहित रणनीति लागू गरिने बताउँदै, आगामी दिनमा “कडाइ र परिणाममुखी प्राथमिकता हुने प्रष्ट पारे। उनले भने, “बारा संवेदनशील जिल्ला भएकाले सीमा सुरक्षादेखि लागुऔषध नियन्त्रणसम्म कुनै पनि क्षेत्रमा कमजोरी सह्य हुँदैन। प्रहरी नागरिकसँग जोडिनुपर्छ, द्रुत प्रतिक्रिया र पारदर्शी काम नै मेरो कार्यशैली हुनेछ।” कुँवरले राजनीतिक प्रभाव, दबाब वा कुनै अनावश्यक हस्तक्षेपबाट मुक्त रहेर व्यावसायिकता र निष्पक्षतामा आधारित कार्ययोजना अघि बढाइने बताए।

कार्यक्रममा उनले बारा जिल्लामा तीव्र रूपमा फैलँदै गएको लागुऔषध दुरुपयोग, सीमा नाकाबाट हुने चोरी–तस्करी, र स्थानीय तहसम्म देखिएका अनियमितता बन्द गर्न विशेष सुरक्षा रणनीति लागू गरिने उल्लेख गरे। “सुरक्षा चुनौती बढ्दै जाँदा प्रहरीको प्रतिक्रिया अझै छिटो, कडा र प्रभावकारी हुनुपर्ने आवश्यकता छ,” उनले जोड दिए। परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरूले समाचार संकलनका क्रममा प्रहरी अधिकारीहरूले समयमा फोन नउठाउने, आवश्यक सूचना दिन ढिलाइ गर्ने जस्ता कारणले समाचार संकलनमा कठिनाइ हुने गुनासो राखे। पत्रकारितासम्बन्धी संवेदनशील विषयमा सुरक्षा जोखिम बढ्ने भएकाले पत्रकारहरूको सुरक्षामा प्रहरीको सक्रिय भूमिका मागे।

त्यस्तै, जिल्लाका केही प्रहरी युनिटका इन्चार्जहरूबीच मिलोमतोमा तस्करी चल्ने आरोप समेत लगाउँदै नयाँ एसपीलाई यस्तो गतिविधि तुरुन्त रोक्न पत्रकारहरुले आग्रह गरे । परिचयात्मक कार्यक्रममा बोल्दै प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले पत्रकारिताको मर्यादाभित्र रहेर काम गर्न पत्रकारहरूलाई सुझाव दिँदै, पत्रकार–प्रहरी सहकार्यले सुशासनलाई सुदृढ बनाउने बताए। स्थानीय तहका “छोटेराजाहरू” को प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न एसपीलाई अनुरोध गरे। पहिलेका एसपीहरू राजनीतिक दबाबमा परेको टिप्पणी गर्दै, अहिलेको कार्यकालमा यस्ता गल्ती दोहोरिन नदिन सहभागी पत्रकारहरुले आग्रह गरे। पत्रकारको गुनासो र सुझावप्रति प्रतिक्रिया दिँदै एसपी कुँवरले प्रहरी–पत्रकार सहकार्यलाई सुदृढ बनाइने बताए। उक्त परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य सिकेन्द्र पासवान,जिल्ला अध्यक्ष रमेश सुबेदी ,उपाध्यक्ष पनालाल दास, सचिव पुष्पराज खतिवडा लगाएत जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

