मंसिर १९ कलैया ः बाराका विभिन्न सीमा नाकामा खटिएका सशस्त्र प्रहरी टोलीहरूले पछिल्लो २४ घण्टामा गरी ५ लाख १६ हजार ५५० रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएका छन्। भारत–नेपाल सीमाबाट भन्सार छली ल्याउन खोजिएका ती सामग्री विभिन्न स्थानका छुट्टाछुट्टै टोलीले बरामद गरेका हुन्। पचरौता नगरपालिका–१, पिपरपाती नजिकै खटिएको बिओपी बेनौलीको टोलीले नायब निरीक्षक श्यमानन्द चमारको कमान्डमा गरिएको चेकिङका क्रममा ४७ हजार ५ सय रुपैयाँ बराबरको सुख्खा सूर्ति र एक लाख मूल्य पर्ने मोटरसाइकल सहित १ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लियो।
त्यसैगरी सिम्रौनगढ नगरपालिका–९, पिठुवाघाट क्षेत्रमा बिओपी गोलागंजाबाट खटिएको टोलीले नायब निरीक्षक तिलकबहादुर गुर्माछानको नेतृत्वमा भारतबाट ल्याइँदै गरेका ६९ हजार ५० रुपैयाँ बराबरका चप्पल र एक लाखको मोटरसाइकल सहित १ लाख ६९ हजार ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ। त्यस्तै कलैया उपमहानगरपालिका–१०, निलकण्ठवा नजिक खटिएको एफओबी निलकण्ठवाको टोलीले नायब निरीक्षक गोबिन्द चौधरीको कमान्डमा एक लाख रुपैयाँ बराबरका मोटरसाइकल पाट्र्स र चप्पल नियन्त्रणमा लियो। त्यस्तै कलैया उपमहानगरपालिका–१०, मटिअर्वा क्षेत्रमा गुल्म मटिअर्वाबाट गस्तीमा रहेको टोलीले नायब निरीक्षक रामसरण सिलवालको नेतृत्वमा किराना सामान, कपाल काट्ने मेसिन र राजनिवास सहित झण्डै एक लाख रुपैयाँ बराबरका सामग्री जब्त गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर–१२ गणका गणपति एसपी खुमबहादुर केसीका अनुसार, बरामद सबै सामग्री आवश्यक प्रक्रिया पूरा गरी विरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिए ।

