प्रमाणपत्र सच्याउने सेवा विकेन्द्रीकरणको मागसहित जेनजी युवाहरुले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र

पछिल्लाे समाचार

पुष ०६ कलैया : एसईई एवं कक्षा ११, १२ को शैक्षिक प्रमाणपत्रमा देखिने त्रुटि सच्याउने सेवालाई विकेन्द्रीकरण गर्दै अनलाइन प्रणाली लागू गर्नुपर्ने मागसहित जेन्जी युथ अफ बाराका संयोजक सम्राट उपाध्यायको नेतृत्वमा युवाहरूको समूहले आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा एसईई तथा +२ उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रमा नाम, जन्ममिति, विषय, सिम्बोल नम्बर लगायतका सामान्य त्रुटि सच्याउन हाल भक्तपुरको सानोठिमीस्थित कार्यालयमै अनिवार्य रूपमा पुग्नुपर्ने व्यवस्थाले विद्यार्थीहरूलाई आर्थिक भार, समयको क्षति र मानसिक तनाव व्यहोर्नुपरेको उल्लेख गरिएको छ। देश डिजिटल प्रणाली, ई–गभर्नेन्स र संघीय संरचनातर्फ अघि बढिरहेको अवस्थामा पनि यस्तो अत्यावश्यक सेवा केन्द्रमै सीमित रहनु विद्यार्थीको अधिकार र पहुँचको दृष्टिले अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ।

त्यसैले प्रमाणपत्र त्रुटि सच्याउने प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने, जिल्ला वा प्रदेशस्तरमै सेवा उपलब्ध गराई विकेन्द्रीकरण गर्नुपर्ने र सम्पूर्ण प्रक्रिया सरल, छरितो तथा पारदर्शी बनाउनुपर्ने माग ज्ञापनपत्रमार्फत गरिएको छ। ज्ञापनपत्र बुझ्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाबिर पुनले विद्यार्थीहरूको समस्या गम्भीर र जायज रहेको प्रतिक्रिया दिएका छन्। मन्त्रीले शैक्षिक प्रमाणपत्र सच्याउने प्रक्रियालाई डिजिटल प्रणालीमा लैजान मन्त्रालय सकारात्मक रहेको बताउँदै यस विषयमा सम्बन्धित निकायसँग छलफल गरी चरणबद्ध रूपमा सुधारको प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

उनले संघीय संरचनाअनुसार सेवा प्रवाहलाई नागरिक नजिक पुर्‍याउने सरकारको नीति रहेको उल्लेख गर्दै प्रमाणपत्र सम्बन्धी सेवामा देखिएका व्यावहारिक समस्याको समाधानका लागि आवश्यक नीतिगत तथा प्राविधिक तयारी गरिने पनि मन्त्री महाबिर पुनले बताए। जेन्जी युथ अफ बाराले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा शीघ्र निर्णय र कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै, माग कार्यान्वयन नभए थप दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय