पुष ११ कलैया ः बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार साहसहित ३० जना उपसचिवहरूको सरुवा गरेको हो। मन्त्रालयको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत साहलाई भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा सरुवा गरिएको छ। साह करिब चार वर्षसम्म कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिए।उनको स्थानमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव रामविनय कुमार सिंह कलैया उपमहानगरपालिकामा आउने भएका छन्।
सिंहसँग जिल्ला शिक्षा कार्यालय रौतहटमा लामो समयसम्म जिल्ला शिक्षा अधिकारीका रूपमा काम गरेको अनुभव रहेको छ। यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराकै सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधा देवकोटा उपाध्यायको पनि सरुवा गरेको छ। उपाध्यायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सो अन्तर्गत रहने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ।उपाध्यायको सरुवापछि सिम्रौनगढ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भने हालसम्म तोकिएको छैन।

