मधेश प्रदेशस्तरीय दुई दिने स्क्राबल च्याम्पियनसिप प्रतियोगिता सिमरामा सुरु

पछिल्लाे समाचार

पुष ११ सिमरा ः सिमरा पब्लिक अङ्ग्रेजी बोर्डिङ स्कूलको आयोजनामा दोश्रो मधेश प्रदेश स्तरीय स्क्राबल च्याम्पियनसिप २०२५ शुक्रबारदेखि सिमरामा सुरु भएको छ । बौद्धिक खेलमार्फत विद्यार्थीहरूको भाषिक क्षमता, तार्किक सोच र सिर्जनशीलता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन सिमरा पब्लिक अङ्ग्रेजी बोर्डिङ स्कूलका प्रिन्सिपल बसन्त ढकालको अध्यक्षता तथा बारा क्षेत्र नम्बर ४ (क) का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि चौधरीले स्क्राबल जस्ता बौद्धिक खेलहरूले विद्यार्थीहरूमा शब्द भण्डार वृद्धि, विश्लेषणात्मक क्षमता र निर्णय गर्ने सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल र पढाइलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याए ।

उनले शैक्षिक संस्थाले यस्ता सिर्जनात्मक प्रतियोगिता आयोजना गर्नु सराहनीय कार्य भएको बताए । प्रतियोगितामा बाराका १४ वटा विद्यालयसहित करिब २५ वटा विद्यालयबाट ५० जना विद्यार्थी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता १४ राउन्डमा सञ्चालन हुने सिमरा पब्लिक स्कूलका संस्थापक अध्यक्ष शालिकराम अधिकारीले जानकारी दिए । प्रत्येक राउन्डमा खेलाडीहरूको शब्द निर्माण क्षमता, रणनीति र समय व्यवस्थापनको परीक्षण गरिनेछ । करिब ३ लाख रुपैयाँको लागतमा आयोजना गरिएको प्रतियोगितामा विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

साथै, बारा , पर्सा सिरहा जिल्लाबाट सहभागी उदयमान खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसमेत प्रतियोगिताले राखेको छ । विद्यालयका प्रिन्सिपल बसन्त ढकालले स्क्राबल खेल शिक्षासँग जोडिएको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै “खेलको माध्यमबाट सिकाइ” नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए । उनले आगामी दिनमा प्रतियोगितालाई अझै व्यवस्थित र राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए । गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको सिमरा पब्लिक इङ्लिस स्कुलका प्रिन्सिपल बसन्त ढकालले जानकारी दिए ।

अमेरिकन पोखरा कर्नर र पोखरा सार्वजनिक पुस्तकालयको सहयोग तथा स्क्राबल क्लबको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।दोश्रो मधेश प्रदेश स्तरीय स्क्राबल च्याम्पियनसिप २०२५ शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एनप्याब्सका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, स्क्राबल क्लबका भोजराज सुवेदी, बालजागृति इङ्लिस स्कुल हेटौंडाका संचालक विनोद सुवेदी र आयोजक विद्यालयका प्रतिनिधिले स्क्राबल खेलको महत्वबारे धारणा राखेका थिए ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय