अखिलेश कुमार यादव ।पुष १२ सिमरा ः थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको २० औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। थानीमाई सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित साधारण सभा समूहका अध्यक्ष गोबिन्द बहादुर अधिकारीको अध्यक्षता तथा डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै डिभिजनल वन अधिकृत राजीव झाले बारा जिल्लाका अन्य सामुदायिक वन उपभोक्ता समूहको तुलनामा थानीमाई सामुदायिक वन उपभोक्ता समूह बढी सक्रिय र अनुशासित रूपमा काम गर्दै आएको बताए। वन सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले यसको संरक्षण गर्नु सम्पूर्ण नागरिकको कर्तव्य भएको बताए।
विश्वभर वन अतिक्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा थानीमाई सामुदायिक वन उपभोक्ता समूहले निरन्तर संरक्षणका काम गरिरहेको भन्दै उनले प्रशंसा गरे। समूहबाट हुने आम्दानी र खर्चको लेखाजोखा प्रत्येक महिना सार्वजनिक गर्ने अभ्यास अन्य सामुदायिक वन उपभोक्ता समूहले पनि अनुशरण गर्नुपर्नेमा उनले जोड दिए। वन क्षेत्रमा रहेको फोहोरलाई मलमा रूपान्तरण गरी आर्थिक फाइदा लिन सकिने सुझाव पनि उनले दिए। बारा जिल्लामा राष्ट्रिय निकुञ्ज विस्तारसँगै मानव र बन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको उल्लेख गर्दै डिभिजन वन कार्यालयले उक्त द्वन्द्व न्यूनीकरणका लागि निरन्तर सहयोग गर्दै आएको जानकारी दिए। बाघको गतिविधि विशेष गरी बेलुकीको समयमा बढी हुने भएकाले सो समयमा वन क्षेत्रमा प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरे।
सामुदायिक वन सम्बन्धी निर्देशिका र कार्यविधि अनुसार काम गर्दा कुनै पनि कानुनी जटिलता नआउने उनले स्पष्ट पारे। कार्यक्रममा अध्यक्ष गोबिन्द बहादुर अधिकारीले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र पारदर्शितामा समूह निरन्तर क्रियाशील रहेको बताउँदै उपभोक्ताको सक्रिय सहभागिताले नै वन संरक्षण सम्भव भएको उल्लेख गरे। आगामी दिनमा वन संरक्षणसँगै आयआर्जनका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो। अधिवेशनबाट थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अध्यक्षमा पुनः गोबिन्द अधिकारी (बिनोद), उपाध्यक्षमा अम्बिका घिमिरे, सचिवमा सारदा रिजाल, सहसचिवमा सिर्जना रिमाल र कोषाध्यक्षमा स्याम सुबेदी निर्वाचित भएका छन्। १७ सदस्यीय कार्यसमितिमा पाँच जना पदाधिकारी अधिवेशनले चयन गर्नेछ भने ११ जना समूहको टोल कमिटीले र एक जना वडा कार्यालयले चयन गरी पठाउनेछ । साधारण सभा तथा अधिवेशनले वन संरक्षण, पारदर्शिता र समुदायको सक्रिय सहभागितालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।कार्यक्रममा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य, राधाकृष्ण मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष सत्य श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

