पुष १२ कलैया ः बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–३ स्थित बडपुरवामा प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा शुक्रबार राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा बाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा तथा प्रहरी चौकी अमृतगंजखजानी बाराबाट प्रहरी सहायक निरीक्षक विश्वराज प्रसाद कुशवाहा समेतको संयुक्त प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले गगांनगरबाट नयकाटोलतर्फ लुकिछुपी ओसार–पसार गरिँदै गरेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिँदै उनीहरूको साथबाट लागूऔषध गाँजा बरामद गरेको हो।
पक्राउ परेका व्यक्तिहरूले जुटको बोरामा गाँजा राखी पिठ्युँमा बोकेर लैजाँदै गरेको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल ६४ किलो ४५० ग्राम रहेको छजिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका–३ नयकाटोल बस्ने अन्दाजी ४० वर्षीय राजकिशोर हजरा र भारतको बिहार राज्य, मोतिहारी जिल्ला, बनकटवा थाना अगरवागाउँ बस्ने अन्दाजी ५० वर्षीय सुरेश रहेका छन्।पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

