अखिलेश कुमार यादव । पुष १३ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ अन्तर्गत जीतपुर बजार क्षेत्रमा वर्षौंदेखि मुख्य राजमार्गको ६ लेन सडक अतिक्रमण गरी सञ्चालन हुँदै आएका फुटपाथ तथा ठेला व्यवसाय अझै हट्न नसकेपछि सटर व्यवसायीहरू आन्दोलित भएका छन् । पटक–पटक उपमहानगरपालिकालाई सडक अतिक्रमण गरी सञ्चालन भइरहेको व्यवसाय हटाउन माग गर्दै आए पनि सुनुवाइ नभएपछि सटर व्यवसायीहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिएका हुन् । जीतपुर चोक क्षेत्र, जो बारा जिल्लाकै मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित छ, सो क्षेत्रमा बिहानैदेखि राजमार्ग अतिक्रमण गरी फलफूल, तरकारी तथा अन्य सामग्रीको खुलेआम किनबेच हुँदै आएको छ ।
यसले सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ ।सटर व्यवसायी फैजुल अन्सारीका अनुसार आफूहरू महिनाको १५ देखि २० हजार रुपैयाँसम्म भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका छन् भने फुटपाथ तथा सडकमा व्यापार गर्नेहरूले कुनै भाडा र कर नतिरी निःशुल्क रूपमा व्यवसाय गर्दा आफूहरूको व्यापार धरासायी बन्न थालेको छ । “उपमहानगरले पटक–पटक सूचना निकालेर फुटपाथ खाली गराए पनि केही दिनमै पुनः बजार लाग्ने गरेको छ, यसले हामी सटर व्यवसायीलाई ठूलो समस्या पारेको छ,” उनले बताए ।यस्तै अर्की व्यवसायी रिना बजगाईले फुटपाथमा दोस्रो दर्जाको सामान बिक्री गर्ने, सरकारलाई कुनै कर नतिर्ने र शहरको सौन्दर्य बिगार्ने कार्य भइरहेको भन्दै त्यसविरुद्ध आफूहरू सडकमा उत्रिन बाध्य भएको बताइन् ।
स्थानीय खुद्रा व्यापारी तथा तरकारी ठेला सञ्चालकहरूले सडकको ठूलो भाग अतिक्रमण गरी दैनिक रूपमा व्यापार सञ्चालन गर्दा सर्वसाधारणलाई आवतजावत गर्न समेत कठिनाइ भइरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको गेटदेखि बकुलिया जाने सडकखण्डको दुवैतर्फ फुटपाथ व्यवसायीहरूले ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयले बताएका छन् ।सडकको छेउछाउमा ठेला, घुम्ती तथा अस्थायी संरचना (रेडिमेन्ट घर) राखी व्यापार सञ्चालन भइरहेको छ भने कतिपय स्थानमा नालामाथि बाँस र काठका स्लेप राखेर समेत व्यवसाय गरिएको पाइएको छ । तर, यस्ता गतिविधिप्रति सम्बन्धित निकाय मौन बसेको सटर व्यवसायीहरूको आरोप छ ।
फुटपाथ अतिक्रमणका कारण भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् । उपमहानगरपालिकाले दीर्घकालीन समाधान ननिकाले स्थिति झनै जटिल बन्दै जाने उनीहरूको भनाइ छ । सटर व्यवसायीहरूले तत्काल सडक अतिक्रमण हटाई व्यवस्थित बजार व्यवस्थापन गर्न माग गरेका छन् ।आइतबार करिब डेढ घण्टा व्यवसायीहरुले सडक अवरुद्ध गरेको थियो भने सोमबार बिहान १० बजे सम्म फूटपाठ भईरहेको व्यवसाय हटेन भने सटर व्यवसायीहरुले पुनः आन्दोलन सुरु गर्ने व्यवसायी रिना बजगाईंले बताईन ।

