बारा–४ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला, कुशवाहाको जित सुनिश्चित भएको दाबी

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । १३ माघ ।सिमरा : नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधिसभा निर्वाचन अगुवा कार्यकर्ता बैठक भेला बारा निर्वाचन क्षेत्र नं. ४ को भलुही प्रसौनिमा सम्पन्न भएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले क्षेत्रस्तरमा संगठन विस्तार र प्रचार–प्रसारलाई तीव्र बनाएको हो। भेलामा आगामी निर्वाचनको रणनीति, घरदैलो अभियान, प्रचारको ढाँचा, कार्यविभाजन र जित सुनिश्चित गर्ने उपायबारे विस्तृत छलफल गरिएको पार्टीले जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले बारा निर्वाचन क्षेत्र नं. ४ बाट जेनजी युवा तथा राष्ट्रिय स्तरका बास्केटबल खेलाडी अजय कुशवाहालाई उम्मेदवारको रूपमा अघि सारेको छ। युवा पुस्ताबाटै देशको नेतृत्व र विकास सम्भव हुने निष्कर्षसहित पार्टीले यसपटक प्रतिनिधिसभा निर्वाचनमा युवालाई प्राथमिकतामा राखेको नेताहरुको भनाइ छ।
अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रसौनी गाउँपालिकाका नेता बिजयी यादवले २०७० साल यताका निर्वाचनमा विभिन्न कारणले आफ्नै पार्टीलाई मत दिनबाट बन्चित हुँदै आएको अवस्था स्मरण गरे। उनले यसपटकको निर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारलाई मत दिन पाउने अवसर आएको भन्दै सम्पूर्ण कार्यकर्ता उत्साहित रहेको बताए। जेनजी युवा उम्मेदवार अजय कुशवाहालाई भारी मतले विजयी गराउन सबै एकजुट भएर लाग्न उनले आग्रह गरे।

त्यस्तै सुझाव राख्दै जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले देश अहिले गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा रहेको बताए। उनले यस्तो अवस्थामा पुरानो सोच र नेतृत्वले देशलाई निकास दिन नसक्ने भन्दै युवाको नेतृत्व अपरिहार्य भएको बताए। यो चुनाव केवल सांसद चयन गर्ने विषय मात्र नभई विचार र दिशाको संघर्षसमेत भएको भन्दै कार्यकर्तालाई सजग र प्रतिबद्ध भएर लाग्न आग्रह गरे।।बैठकमा बोल्दै जीतपुरसिमरा नगर प्रमुख तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजन पौडेलले स्थानीय तहमा युवाले नेतृत्व गर्दा आएको सकारात्मक परिवर्तनबारे चर्चा गरे। उनले युवाको सोच, ऊर्जा र इमान्दारिताले शासन र विकास दुवैमा फरक परिणाम दिएको उल्लेख गर्दै अब त्यो अनुभव संघीय तहसम्म लैजान आवश्यक रहेको बताए।

पौडेलले अजय कुशवाहा जस्तो युवा उम्मेदवारले प्रतिनिधिसभामा पुगेर शिक्षा, खेलकुद, रोजगारी र युवासम्बन्धी मुद्दालाई मजबुत रुपमा उठाउने विश्वास व्यक्त गरे। उनले पार्टीका सम्पूर्ण नेता र कार्यकर्तालाई अनुशासित, संगठित र योजनाबद्ध रूपमा चुनावी अभियानमा लाग्न निर्देशन दिए। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल श्रेष्ठको संयोजकत्वमा बारा निर्वाचन क्षेत्र नं. ४ मा ५ सय सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिइयो। साथै १ सय १ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ। स्पष्ट कार्यविभाजनसहित घरघरमा पुग्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सके पार्टीको उम्मेदवारको जित सुनिश्चित हुने नेताहरुले बताए।

केन्द्रीय सदस्य रानचन्द्र प्यासीले बारा जिल्लामा अहिलेको राजनीतिक अवस्थालाई उल्लेख गर्दै बारा क्षेत्र नं. ४ मा कडा प्रतिस्पर्धा हुने बताए। उनले जिल्लाकै सबैभन्दा अलोकप्रिय उम्मेदवारका रूपमा कृष्णकुमार श्रेष्ठ रहेको टिप्पणी गर्दै यसले नेपाली कम्युनिस्ट पार्टीका लागि अनुकूल वातावरण बनेको दाबी गरे। फागुन २१ गते हुने निर्वाचनमा बारा क्षेत्र नं. ४ मा तीन जना मुख्य उम्मेदवारबीच प्रतिस्पर्धा हुने भए पनि अन्ततः पार्टीको जित सुनिश्चित हुने उनको भनाइ थियो।।अगुवा कार्यकर्ता भेलामा सहभागी केन्द्रीय सदस्यहरुले संगठनलाई अझ मजबुत बनाउने, मतदातासँग प्रत्यक्ष संवाद बढाउने, युवा, किसान, मजदुर र मध्यम वर्गका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउन सुझाव दिएका थिए।

भेलाको निष्कर्षका रूपमा नेपाली कम्युनिस्ट पार्टीले बारा निर्वाचन क्षेत्र नं. ४ मा संगठनात्मक तयारी बलियो रहेको, जनआधार बढ्दो क्रममा रहेको र जेनजी युवा उम्मेदवारप्रति जनताको आकर्षण बढिरहेको दाबी गरेको छ। पार्टी नेतृत्वले चुनावी अभियानलाई अझ सशक्त बनाउँदै जित सुनिश्चित गर्न अन्तिम समयसम्म सक्रिय रूपमा मैदानमा रहने जनाएको छ।बैठक भेलामा पार्टीका केन्द्रीय सदस्य, जिल्ला र स्थानीय तहका नेता, अगुवा कार्यकर्ता तथा युवा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय