माघ १३ सिमरा : आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा जिल्लाकै सबैभन्दा अलोकप्रिय उम्मेदवार नेकपा एमालेका किसान श्रेष्ठ रहेको दाबी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य रामचन्द्र प्यासीले गरेका छन्। बारा निर्वाचन क्षेत्र नं. ४ को भलुहीमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको क्षेत्रीय भेला तथा समीक्षा कार्यक्रम पछि सञ्चारकर्मीहरु संग कुरा गर्दै प्यासीले किसान श्रेष्ठप्रति कडा व्यंग्यसहित टिप्पणी गरेका हुन्। प्यासीले जिल्लाकै सबैभन्दा कमजोर उम्मेदवार किसान श्रेष्ठ नभएर सबैभन्दा अलोकप्रिय उम्मेदवार रहेको स्पष्ट पारे।
उनले भने, “चुनाव जित्छु भनेर ज्यान ठूलो बनाउनु नै हारको सुरुवात हो। जनताको विश्वास गुमाइसकेपछि भीड देखाएर चुनाव जितिन्छ भन्ने सोच आफैँमा भ्रम हो।” उनका अनुसार फागुन २१ गते हुने निर्वाचनमा बारा क्षेत्र नं. ४ मा तीन जना मुख्य उम्मेदवारबीच प्रतिस्पर्धा हुने भए पनि किसान श्रेष्ठ उक्त प्रतिस्पर्धामा निर्णायक भूमिकामा नरहने दाबी गरे।।२०७९ सालको निर्वाचनमा किसान श्रेष्ठलाई बारा क्षेत्र नं. ४ बाट विजयी गराउनु आफूहरूको ठूलो राजनीतिक भूल भएको स्वीकार गर्दै प्यासीले अब त्यस्ता उम्मेदवारको पराजय अनिवार्य रहेको बताए।
किसान श्रेष्ठको कार्यशैलीमाथि कटाक्ष गर्दै प्यासीले जनताको समस्या पर्दा तत्काल उपस्थित हुने सांसदको अपेक्षा जनताले गरेको तर किसान श्रेष्ठ त्यसमा पूर्ण रूपमा असफल भएको आरोप लगाए। “उहाँ हात्ती जस्तो भए पनि म उत जस्तो भएर सम्हाल्छु भनेको थिएँ,” प्यासीले भने, “तर उहाँ आफैँसँग पनि सम्हालिन नसक्ने अवस्थामा देखिनुभयो।” मनोयन दर्ताका क्रममा देखिएको भीडप्रति पनि उनले व्यंग्य गरे। उनले त्यो भीड जनताको स्वस्फूर्त समर्थन नभई पैसाको बलमा बोलाइएको भीड भएको दाबी गरे।
“भीडले लोकप्रियता मापन हुँदैन, मतपेटिकाले गर्छ,” उनको भनाइ थियो। प्यासीले नेपाली कम्युनिस्ट पार्टीको वास्तविक प्रतिस्पर्धा किसान श्रेष्ठसँग नभई रहब अन्सारी र श्यामबाबु गुप्तासँग रहेको बताए। उनका अनुसार किसान श्रेष्ठ अन्ततः चौथो स्थानमा सीमित हुने निश्चित छ। “ सञ्चारकर्मीहरु संगको कुराकानीमा बोल्दै प्यासीले जनताको विश्वास, उपस्थित नेतृत्व र जनजीवनसँग जोडिएको सांसद नै अहिलेको आवश्यकता रहेको उल्लेख गरे। उनले बारा क्षेत्र नं. ४ मा जनताको चाहना अनुसारको नेतृत्व स्थापित हुने र नेपाली कम्युनिस्ट पार्टीले चुनाव जित्ने दाबी दोहोर्याए।

