समयमै पुल निर्माण नहुँदा फत्तेपुर–कलैया सडक प्रभावित बन्दै ,स्थानीयहरु सास्ती खेप्न बाध्य

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । माघ २८ सिमरा : बाराको सदरमुकाम कलैयासँग जोडिने मुख्य सडकखण्डमा निर्माणाधीन पुल समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दा हैरानी खेप्न बाध्य भएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ अन्तर्गत फत्तेपुरदेखि सदरमुकाम कलैया जोड्ने सडकमा निर्माण भइरहेका दुईवटा कल्भर्ट पुल अलपत्र परेपछि पिपरिया गाउँका स्थानीयहरू प्रत्यक्ष मारमा परेका हुन्।उक्त पुलहरू जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक योजना अन्तर्गत निर्माण थालिएको हो। उपमहानगरपालिकाको २७ लाख ११ हजार रुपैयाँको लागतमा दुईवटा कल्भर्ट पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि सम्झौता म्याद सकिँदासमेत काम सम्पन्न हुन सकेको छैन।

स्थानीयका अनुसार वर्षायाममा खोल्सामा पानी बढ्दा वैकल्पिक बाटोसमेत नहुँदा आवतजावत लगभग ठप्प हुने गरेको छ। विशेष गरी बालबालिकालाई विद्यालय पठाउन, बिरामीलाई अस्पताल लैजान र दैनिक कामकाज गर्न निकै कठिनाइ हुने गरेको छ। स्थानीय अभिभावक फेनवा खा थारुले पुल नहुँदा आफ्ना बालबालिका विद्यालय जानै छाड्नुपर्ने अवस्था आउने गरेको बताए। पुल निर्माणमा ढिलाइ हुँदा कृषि क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ। किसान सुरेश चौधरीका अनुसार खेतमा मल, बीउ र उत्पादन ओसारपसार गर्न नसक्दा लागत बढ्नुका साथै उत्पादनसमेत प्रभावित भएको छ। “खेतीपाती नै हाम्रो मुख्य आम्दानी हो, पुल नहुँदा बजारसम्म पुग्नै समस्या छ,” उनले गुनासो गरे।

२०८१ साल वैशाख १६ गते कार्यदेश लिएर पुल निर्माणको जिम्मा लिएको गढीमाई सिभिल कन्सलटेन्सी एण्ड कन्स्ट्रक्सनले सम्झौता अवधि बितिसक्दासमेत काम पूरा नगरेपछि स्थानीय आक्रोशित बनेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदासमेत ठेकेदार कम्पनी सम्पर्कविहीन हुने गरेको वडा नम्बर १२ का वडाध्यक्ष श्यामबाबु चौधरीले बताए। नगरको बजेटबाट निर्माण भइरहेको योजनामा समेत यस्तो लापरबाही हुनु दुःखद भएको उनको भनाइ छ। उपमहानगरपालिकाका इन्जिनियर अभयकान्त झाले २७ लाख रुपैयाँको लागतमा दुईवटा पुल निर्माण भइरहेको र ठेकेदारको ढिलासुस्ती तथा सम्पर्कविहीन अवस्थाका कारण काम समयमा सम्पन्न हुन नसकेको स्वीकार गरे। उनका अनुसार दुई पटक म्याद थप गरिसकिएको छ र माघ मसान्तसम्म काम सम्पन्न गराउने प्रयास भइरहेको छ।

तर स्थानीय भने ठेकेदार कम्पनीले अहिलेसम्म १४ लाख २६ हजार रुपैयाँ भुक्तानी लिइसक्दा पनि अपेक्षित प्रगति नदेखिएको भन्दै थप आश्वासनप्रति विश्वस्त देखिँदैनन्। बारामा पछिल्लो समय ठेकेदार कम्पनीहरूको चरम लापरबाहीका कारण दर्जनौँ पुल तथा सडक योजना अलपत्र अवस्थामा पुगेका छन्। टेन्डर आह्वान गरिएको रकमभन्दा निकै कम मूल्यमा ठेक्का सकार्ने, पछि घाटा भएको बहानामा काम अधुरै छोड्ने र सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दै गएको स्थानीयको गुनासो छ। यस्ता लापरबाहीले जनताको दैनिक जीवन प्रत्यक्ष प्रभावित भइरहेको छ। विकासका नाममा बजेट छुट्याइए पनि समयमै काम नहुँदा जनताको समस्या झनै जटिल बन्दै गएको छ। सम्बन्धित निकायले समयमै अनुगमन, कडाइ र जवाफदेहिता सुनिश्चित नगर्ने हो भने विकास योजना कागजमै सीमित हुने खतरा बढ्दै गएको स्थानीयको भनाइ छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय