अखिलेश कुमार यादव । माघ २८ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार औपचारिक उद्घाटन गरिएको छ। नगरप्रमुख राजन पौडेलले एक कार्यक्रमबीच भवन उद्घाटन गरेका हुन्। स्थानीय तह स्थापना भएको साढे आठ वर्षपछि वडा नं. १३ ले आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको हो। यसअघि सामुदायिक भवनको साँघुरो कोठाबाट सेवा दिँदै आएको वडा कार्यालय अब सुविधा सम्पन्न पाँच कोठे भवनमा सञ्चालनमा आएको छ। करिब ४५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष हेमनारायण चौधरीले जानकारी दिए।

आफ्नै भवनबाट सेवा दिन पाउँदा वडाबासीलाई सहजता हुने र आफूहरू पनि उत्साहित रहेको उनले बताए।उनका अनुसार आफ्नै भवनबाट सेवा प्रवाह सुरु हुनु वडाबासीका लागि महत्वपूर्ण उपलब्धि हो। सानो ठाउँमा सीमित सेवा दिँदै आएको अवस्था अन्त्य भई अब व्यवस्थित रूपमा सेवा दिन सकिने भएको उनले बताए।कार्यक्रममा उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत किरतीराज सुवेदीले कार्यसम्पादन मूल्यांकनमा आफ्नै वडा कार्यालयबाट सेवा प्रवाहलाई महत्वपूर्ण आधार मानिएको उल्लेख गर्दै उपमहानगरले सबै वडाबाट व्यवस्थित सेवा प्रवाहमा जोड दिएको बताए।

साना उपभोक्ता समितिले भुक्तानीका लागि नगरपालिकामा जानुपर्ने बाध्यता हटाउन वडा कार्यालयबाटै भुक्तानी प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए। उद्घाटन कार्यक्रममा नगरप्रमुख पौडेलले उपमहानगरका २४ वडामध्ये २२ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आइसकेको बताए। वडा नं. २४ को भवन साइड क्लियरेन्सका कारण उद्घाटन हुन बाँकी रहेको उनले स्पष्ट पारे। उपमहानगर प्रविधिमैत्री सेवा प्रवाहमा केन्द्रित भई अघि बढिरहेको उनको भनाइ थियो।

सो अवसरमा नगरप्रमुख पौडेलले समसामयिक राजनीतिक प्रसंगसमेत उठाउँदै सामाजिक सञ्जालमा गरिएको एक स्टेटसकै कारण संसद विघटनसम्मको अवस्था सिर्जना भएको टिप्पणी गरे। उनले विभिन्न मितिमा भएका घटनाको जिम्मेवारी सम्बन्धित व्यक्तिहरूले लिनुपर्ने विषयमा प्रश्न उठाउँदै स्थानीयवासीलाई यस्ता विषयमा सचेत र जिम्मेवार ढंगले विचार गर्न आग्रह गरे।
त्यसैगरी, विगतमा निर्वाचित तथा हाल उम्मेदवार रहेका जनप्रतिनिधिसँग शिक्षा ऐन र निजामती ऐन किन ल्याउन नसकेको र पुनः निर्वाचित भए कहिलेसम्म ल्याउने भन्ने विषयमा नागरिकले प्रश्न गर्नुपर्ने उनले बताए।

कार्यक्रममा समाजसेवी रुपलाल चौधरीले वडा नं. १३ सानो वडा भए पनि विकास निर्माणका थुप्रै काम बाँकी रहेको उल्लेख गर्दै यसलाई नमुना वडा बनाउने गरी योजना अघि बढाउन जनप्रतिनिधिको ध्यानाकर्षण गराए। उद्घाटन कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन वडा सचिव अनिल पासवानले गरेका थिए।


