फाल्गुन १ गते बारा : आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं १का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले गरिब, दलित तथा भूमिहीन समुदायको जीवनस्तर सुधार गर्ने स्पष्ट एजेन्डासहित चुनावी अभियानलाई तीव्रता दिएका छन् शुक्रबार बारा गढी गाउँपालिकाको मलाही र दौर्वा गाउँमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी हुँदै उनले जनताको वास्तविक समस्या बुझ्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
उम्मेदवार यादवले भने, “गरिबलाई आवास र भूमिहीनलाई जमिन दिनु हाम्रो प्राथमिकता हो। जबसम्म जनताको आधारभूत अधिकार सुनिश्चित हुँदैन, तबसम्म समृद्धि र विकास सम्भव हुँदैन। आम जनता पार्टी जनताको अधिकारका लागि संघर्ष गर्ने पार्टी हो।” उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि उत्पादन, सिंचाइ, सडक, युवा स्वरोजगार तथा स्थानीय विकासलाई प्राथमिकतामा राखेर जनमुखी सरकार निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रमका क्रममा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनले स्थानीय समस्या, किसानका पीडा, बेरोजगारी र गरिबीका मुद्दा संसदमा उठाउने दृढ संकल्प व्यक्त गरे। स्थानीय मतदाताले पनि घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै जनताको मुद्दा उठाउने उम्मेदवारलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्। आजपा उम्मेदवार यादवले बारा निर्वाचन क्षेत्र नं. १ मा “अबकी बार जनता सरकार” नारासहित परिवर्तनको राजनीतिक अभियानलाई जनस्तरसम्म पुर्याउँदै जनसमर्थन विस्तार गर्ने अभियान जारी रहेको बताए।

