फागुन ०१ सिमरा : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार बाराका १६ स्थानीय तहमध्ये प्रसौनी गाउँपालिका पहिलो स्थानमा परेको छ।
७० दशमलव २४ अंक प्राप्त गर्दै प्रसौनीले जिल्लामै उत्कृष्ट नतिजा निकाल्नुका साथै मधेश प्रदेशका स्थानीय तहमध्ये पनि दोस्रो स्थान सुरक्षित गरेको हो। यसले गाउँपालिकाको समग्र प्रशासनिक क्षमता, वित्तीय अनुशासन र सेवा प्रवाहको अवस्थालाई सकारात्मक रूपमा देखाएको आयोगले जनाएको छ।
प्रतिवेदनअनुसार परवानिपुर गाउँपालिका ६५ दशमलव १७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने पचरौता नगरपालिका ५६ दशमलव ३३ अंकसहित तेस्रो भएको छ। त्यस्तै सिमरौनगढ नगरपालिका ५१ दशमलव ३५, करैयामाई गाउँपालिका ५० दशमलव ६३, विश्रामपुर गाउँपालिका ४९ दशमलव ४५, आदर्श कोतवाल गाउँपालिका ५० दशमलव १०, देवताल गाउँपालिका ५० भन्दा बढी अंक, कलैया उपमहानगरपालिका ५० दशमलव ३२, फेटा गाउँपालिका ४९ दशमलव ५५, महागढीमाई नगरपालिका ४९ दशमलव ३१, जीतपुरसिमरा उपमहानगरपालिका ४८ दशमलव ३९, निजगढ नगरपालिका ४१ दशमलव ४७, बारागढी गाउँपालिका ४१ दशमलव ८, कोल्हवी नगरपालिका ३९ र सुवर्ण गाउँपालिका ३७ दशमलव ९६ अंकसहित अन्तिम स्थानमा रहेका छन्।
प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जयसवाल ले यो उपलब्धि सम्पूर्ण गाउँवासी, जनप्रतिनिधि र कर्मचारीको सामूहिक मेहनतको परिणाम भएको बताए। अध्यक्ष जयसवालले आगामी दिनमा पनि सुशासन, विकास निर्माण र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याएपछि प्रसौनी गाउँपालिकामा उत्साह थपिएको छ। स्थानीय तहबीच प्रतिस्पर्धा बढ्दै जाँदा सेवा प्रवाहमा सुधार र पारदर्शिता मजबुत हुने अपेक्षा गरिएको छ।

