कलैया, २९ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल झनै तातिएको छ। यही सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामबाबु कुमार यादवले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।
बिहीबार कलैया उपमहानगरपालिका–२०, बसतपुरमा आयोजित घरदैलो अभियानमा यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए।
घर–घर पुगेर मतदातासँग भेटघाट गर्दै उनले क्षेत्रका प्राथमिक समस्या र विकासका सम्भावनाबारे चासो व्यक्त गरे।
कार्यक्रममा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको थियो। गाउँका विभिन्न टोलमा पुग्दा समर्थकहरूको साथ र सक्रियता बाक्लो देखिन्थ्यो।
उम्मेदवार यादवले बारा–३ मा सडक स्तरोन्नति, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवामा जोड दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले क्षेत्रको समग्र विकासका लागि आफूले दीर्घकालीन योजना तयार पारेको दाबी गरे। बसतपुरको अभियानपछि यादवको चुनावी सक्रियता थप मजबुत देखिएको छ। स्थानीयस्तरमा संगठनको उपस्थिति र मतदातासँगको प्रत्यक्ष सम्बन्धले उनको पकड क्षेत्रभर फैलिँदै गएको संकेत दिएको छ।

