बारामा एक सातामै डुबेर तीन बालबालिकाको मृत्यु, वर्षायाममा सतर्कता अपनाउन आग्रह

पछिल्लाे समाचार

साउन ०५ सिमरा : बारामा एक साताको अवधिमा डुबेर दुई बालिकासहित तीन बालबालिकाको मृत्यु भएपछि वर्षायाममा बालबालिकाको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको छ। सोमबार जितपुर सिमरा उपमहानगरपालिका–७ को सरिसवा नदीमा डुबेर तीन वर्षीया फुलतारा खातुनको मृत्यु भएको छ। खेल्ने क्रममा नदीमा डुबेकी उनलाई उद्धार गरी नगर अस्पताल सिमरा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। यसअघि आइतबार सुवर्ण गाउँपालिका–७ चौरहियामा धानखेतमा जमेको पानीमा डुबेर १८ महिनाकी लालुकुमारी महतोको मृत्यु भएको थियो। मावली घर गएकी बालिका घर पछाडि खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा फेला परेकी थिइन्।

यस्तै, असार ३२ गते करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो उत्खननपछि छाडेको पानी भरिएको खाल्डोमा डुबेर ११ वर्षीया रोशनी चौधरीको ज्यान गएको थियो। लगातार भएका यी घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वर्षायाममा बालबालिकालाई नदी, पोखरी, कुलो, धानखेत तथा पानी जमेको स्थाननजिक एक्लै नछाड्न अभिभावकसँग आग्रह गर्नुभएको छ। साथै, जोखिमयुक्त खाल्डामा घेराबार गर्न, चेतावनी बोर्ड राख्न र सार्वजनिक सुरक्षा उपाय प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय