वर्तमान राजनीतिक संकटको समाधान संसद पुनःस्थापनामै निहित छ: केन्द्रीय सदस्य आलम

पछिल्लाे समाचार

सिम्रौनगढ (बारा), १० पौष : नेकपा (एमाले) का नव–निर्वाचित केन्द्रीय कमिटी सदस्य तथा युवा नेता इन्जिनियर मोबिन आलमले देशमा देखिएको वर्तमान राजनीतिक संकटको संवैधानिक र स्थायी निकास संसद पुनःस्थापनामै रहेको बताएका छन्। सिम्रौनगढ नगरपालिका–११ भगवानपुरमा आयोजित सम्मान तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले जनताको जनादेशको सम्मान गर्दै संसद पुनःस्थापना गर्नु अपरिहार्य भइसकेको धारणा राखे।


उनले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र सरकार सञ्चालनको कमजोरीले जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार गठन गरेर जेन्जी आन्दोलनबाट उठेका जायज मागहरू सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। आलमले जेन्जी आन्दोलनपछिको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अब नयाँ राजनीतिक समझदारीसहित अघि बढ्नुपर्ने समय आएको बताए।


नेकपा एमाले सिम्रौनगढ नगर कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम नगर कमिटी अध्यक्ष महेन्द्रप्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेस प्रदेश सभा सदस्य राजपतिदेवी जयसवाल, जिल्ला कमिटीका पदाधिकारी, नगर तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रमुख अतिथि आलमले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा देखिएको ऐतिहासिक जनसहभागिताले पार्टीप्रति जनताको भरोसा अझै बलियो रहेको स्पष्ट पारे। उनले पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै आगामी निर्वाचनमा एमाले निर्णायक शक्तिका रूपमा उदाउने विश्वास व्यक्त गरे।


कार्यक्रममा नगर कमिटी अध्यक्ष जयसवालले केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका आलमलाई सम्मान गर्दै सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरे। सो अवसरमा आलमले पार्टीमा नयाँ रूपमा संगठित सदस्यहरूलाई ज्याकेट वितरण गर्नुका साथै दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रमको सहजीकरण युवा नेता मुकेश जयसवालले गरेका थिए।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय