बारा, असार ६ । बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब १ः३० बजे स्थानीय दिपेन्द्र साहको हाँस पालनका लागि प्रयोग हुने पोखरीमा नुहाउने क्रममा दुई बालिका डुबेर गम्भीर बिरामी भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर अस्पतालमा उपचारका क्रममा चिकित्सकले दुबै बालिकाको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ पर्सा टोल निवासी विजय मण्डलकी ६ वर्षीया छोरी सृजना कुमारी मण्डल र संजय मण्डलकी ५ वर्षीया छोरी अञ्जली कुमारी मण्डल रहेका छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक बिमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा तथा अनुसन्धान कार्य थालेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक राजाबाबु ठाकुरको नेतृत्वमा अपराध अनुसन्धान टोली (SOCO) समेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।।पोष्टमार्टमपछि शनिबार राति दुवै बालिकाको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

