अखिलेश कुमार यादव। साउन २० सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यालयको आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले सामाजिक लेखापरीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ । बकुलिया क्याम्पसको सभाकक्षमा लेखापरीक्षण समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयले गत आर्थिक वर्षको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो। बिद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले प्रस्तुत गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आम्दानी १ करोड २६ लाख २७ हजार ९ सय १२ रुपैयाँ पुगेको छ। उहाँका अनुसार वडा नम्बर ५ कार्यालयबाट अतिरिक्त कोचिङ कक्षा सञ्चालनका लागि विनियोजन गरिएको ५ लाख रुपैयाँमध्ये २ लाख ७८ हजार ७ सय रुपैयाँ विद्यालयको खातामा प्राप्त भएको छ। त्यसैगरी छात्राहरूका लागि सेनिटरी प्याड खरिद गर्न स्थानीय सरकारबाट १ लाख ८ हजार ४ रुपैयाँ उपलब्ध गराइएको जानकारी पनि उहाँले दिनुभयो।

प्रधानाध्यापक गौतमले लामो समयदेखि रोकिएको नमूना विद्यालय विकास कार्यक्रमको बजेट आर्थिक वर्ष २०८१/८२ देखि पुनः कार्यान्वयनमा आएको जानकारी दिँदै गत आर्थिक वर्षमा उक्त कार्यक्रमअन्तर्गत १३ लाख ७० हजार रुपैयाँ खर्च गरिएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको अनुमानित आय–व्ययसमेत कार्यक्रममा प्रस्तुत गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिने उल्लेख गर्नुभयो। कार्यक्रममा शिक्षक प्रतिनिधि सन्तोषकुमार गुप्ताले विद्यालयमा छात्राहरूका लागि सेनिटरी प्याड वितरण कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको र यसले किशोरीहरूको विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पारेको बताउनुभयो।

वडा सदस्य इन्दल हाजराले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै विद्यालयका शैक्षिक गतिविधिमा अभिभावकले निरन्तर चासो दिनुपर्ने धारणा राख्नुभयो। उहाँले अतिरिक्त कोचिङ कार्यक्रमलाई आगामी दिनमा पनि वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमका अध्यक्ष कृष्णप्रसाद चौधरीले विद्यालयका गतिविधिमा अभिभावकको सहभागिता अपेक्षाअनुसार हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयमा शिक्षक अभावको समस्या अझै कायम रहेकाले सर्वसम्मत निर्णयअनुसार विद्यार्थीबाट वार्षिक रूपमा न्यून रकम सहयोगस्वरूप संकलन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उक्त सहयोग रकम विद्यालयको शैक्षिक व्यवस्थापन तथा आवश्यक खर्चमा उपयोग गरिने उहाँको भनाइ थियो। कार्यक्रममा सहभागी सरोकारवालाहरूले सामाजिक लेखापरीक्षणले विद्यालयको आर्थिक पारदर्शिता, उत्तरदायित्व र सुशासन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। विद्यालयले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।


