साउन १६ सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा ‘द लेभल अप आर्केड गेमिङ जोन’ सञ्चालनमा आएको छ। करिब १० लाख रुपैयाँको लगानीमा आशिष लामाले स्थापना गर्नुभएको गेमिङ जोनको उद्घाटन आज आयोजित एक विशेष समारोहका बीच वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले रिबन काटेर गर्नुभएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुवास श्रेष्ठले युवाहरूलाई सुरक्षित, व्यवस्थित र मनोरञ्जनसँगै सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले यस्ता व्यवसाय आवश्यक रहेको बताउनुभयो।
निजी क्षेत्रको लगानीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै अमलेखगञ्जको व्यावसायिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले व्यवसायलाई मर्यादित र जिम्मेवार ढंगले सञ्चालन गर्न आग्रह गर्नुभयो।गेमिङ जोनका सञ्चालक आशिष लामाले आधुनिक मनोरञ्जन सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले उक्त गेमिङ जोन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख प्रहरी निरीक्षक प्रकाश खत्री, समाजसेवी केन्द्रबहादुर गुरुङलगायत स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

