साउन १४ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१२ ले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्यका साथ विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा वडाध्यक्ष श्यामबाबु चौधरीले वडा भित्रका चारवटा टोल विकासका क्लबलाई फुटबल, भलिबल, क्रिकेटलगायतका खेल सामग्री हस्तान्तरण गर्नुभएको हो। क्लबहरूको मागका आधारमा तीनवटा क्लबलाई आवश्यक खेल सामग्री उपलब्ध गराइएको छ भने बाँकी सामग्री पिपरिया क्लबलाई प्रदान गरिएको वडा सचिव सुनिल तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार वडा भित्र रहेका दुईवटा विद्यालयलाई पनि विद्यार्थीहरूको खेलकुद गतिविधि सुदृढ बनाउन आवश्यक खेल सामग्री वितरण गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष चौधरीले खेलकुदले बालबालिका र युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्नुका साथै लागूऔषध दुव्र्यसन र अन्य कुलतबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वडाले आगामी दिनमा पनि खेलकुदमार्फत सकारात्मक सन्देश फैलाउने र युवालाई सिर्जनात्मक गतिविधिमा जोड्ने कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ थियो। खेलकुद सामग्री प्राप्त गरेका क्लबका युवाहरूले वडाको पहलले खेल गतिविधिलाई थप व्यवस्थित बनाउन ठूलो सहयोग पुगेको बताएका छन्। नियमित अभ्यास र प्रतियोगितामा सहभागी हुन आवश्यक सामग्रीको अभाव हटेकाले अब अझ उत्साहका साथ खेल्न सकिने उनीहरूको भनाइ छ।

युवाहरूले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै गलत संगत र कुलतबाट जोगाउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै स्थानीय सरकारसँग आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन् ।खेलकुद सामग्री वितरण कार्यक्रममा वडा सदस्य थगा चौधरी, प्रतिमा चौधरी तथा स्थानीय समाजसेवी, क्लबका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

