शिक्षकको मर्यादाक्रम कानुनमै व्यवस्था गर्ने नेपालकै पहिलो स्थानीय तह बन्यो जितपुरसिमरा

पछिल्लाे समाचार

साउन २० सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षकहरूको मर्यादाक्रमलाई कानुनी रूपमा व्यवस्था गर्दै नेपालकै पहिलो स्थानीय तह बनेको जनाएको छ। उपमहानगरपालिकाले शिक्षा ऐन, २०७५ (पहिलो संशोधन, २०८०) को दफा २४ मार्फत शिक्षकहरूको तह, श्रेणी र जिम्मेवारीका आधारमा मर्यादाक्रम निर्धारण गरेको हो । नगर प्रमुख राजन पौडेलले संविधानले स्थानीय तहलाई दिएको विद्यालय शिक्षासम्बन्धी अधिकार प्रयोग गर्दै शिक्षकको सम्मान, गरिमा र सामाजिक प्रतिष्ठालाई संस्थागत गर्ने उद्देश्यले ऐन संशोधन गरिएको बताउनुभयो। उहाँका अनुसार यो व्यवस्था कार्यान्वयनमा आइसकेको छ र उपमहानगरपालिकाका औपचारिक सभा, समारोह तथा कार्यक्रममा शिक्षकहरूले कानुनबमोजिमको मर्यादा र आसन पाउन थालेका छन्।

संशोधित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षक तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) सरह, माध्यमिक तह द्वितीय श्रेणी तथा आधारभूत तह प्रथम श्रेणीका शिक्षकलाई राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) सरह मर्यादा प्रदान गरिएको छ। त्यसैगरी माध्यमिक तह तृतीय श्रेणी तथा आधारभूत तह द्वितीय श्रेणीका शिक्षकलाई राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) र आधारभूत तह तृतीय श्रेणीका शिक्षकलाई राजपत्रअनङ्कित द्वितीय श्रेणी (खरिदार) सरहको मर्यादाक्रम तोकिएको छ। ऐनले प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका शिक्षकलाई सम्बन्धित तहको मर्यादामा प्राथमिकता दिने तथा संस्थागत (निजी) विद्यालयका शिक्षकलाई समेत योग्यता र तहका आधारमा मर्यादाक्रममा समायोजन गर्ने व्यवस्था गरेको छ।

नगर प्रमुख पौडेलका अनुसार संघीय कानुनमा शिक्षकको सेवा, सुविधा र व्यवस्थापनसम्बन्धी व्यवस्था भए पनि स्थानीय तहका औपचारिक कार्यक्रममा शिक्षकको मर्यादाक्रम स्पष्ट रूपमा उल्लेख नभएकाले स्थानीय ऐनमार्फत त्यसको सम्बोधन गरिएको हो। यसले शिक्षण पेसाको सम्मान अभिवृद्धि, शिक्षकको मनोबल वृद्धि तथा शैक्षिक सुशासनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। उपमहानगरपालिकाको निर्णयप्रति शिक्षक समुदायले सकारात्मक प्रतिक्रिया जनाएको छ। शिक्षक भूपनारायण यादवले शिक्षक आन्दोलनका क्रममा उठाइएका मागमध्ये मर्यादाक्रम निर्धारणको विषय पहिलो पटक व्यवहारमा कार्यान्वयनमा आएको उल्लेख गर्दै नगर प्रमुख तथा नगर कार्यपालिकाप्रति आभार व्यक्त गर्नुभएको छ। यस्तै शिक्षक शंकर अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिका नेपालका ७५३ स्थानीय तहमध्ये शिक्षकको मर्यादाक्रम कानुनी रूपमा निर्धारण गर्ने पहिलो पालिका बनेको उल्लेख गर्दै यसलाई अन्य स्थानीय तहका लागि अनुकरणीय अभ्यासको रूपमा व्याख्या गर्नुभएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय