बाराका दुई स्थानीय तहद्वारा ९७ करोडभन्दा बढीको बजेट प्रस्तुत

पछिल्लाे समाचार

असार ०६ सिमरा : सिम्रौनगढ नगरपालिका र विश्रामपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। बाराको सिम्रौनगढ नगरपालिकाको ११ औँ नगरसभा तथा विश्रामपुर गाउँपालिकाको १९ औँ गाउँसभा शनिबार सम्पन्न हुँदै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो। सिम्रौनगढ नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभामा नगर प्रमुख किशोरी साह कलवारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा, महिला तथा बालबालिका सशक्तीकरण, रोजगार प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड ६३ लाख ५० हजार रुपैयाँ बराबरको अनुमानित आय तथा बजेट सार्वजनिक गरेको छ। नगरसभामा सहभागी जनप्रतिनिधिहरूले यसपटकको सभा सहमतिपूर्ण र उपलब्धिमूलक भएको बताएका छन्। विगतका वर्षहरूमा देखिँदै आएको विवाद र अवरोध अन्त्य गर्दै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
यता, विश्रामपुर गाउँपालिकाको १९ औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि ३५ करोड ५१ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिका उपाध्यक्ष प्रियांका देवीको सहकार्यमा वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार यादवले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।


गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, सामाजिक विकास, विपद् व्यवस्थापन तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। बजेटमा कृषि तथा पशु विकास, स्वास्थ्य सेवा विस्तार, शैक्षिक सुधार, सडक तथा भवन निर्माण, ऊर्जा विकास र सूचना प्रविधि विस्तारका कार्यक्रम समावेश गरिएको छ।
दुवै स्थानीय तहले आगामी आर्थिक वर्षमा विकास निर्माण, सेवा प्रवाह सुधार तथा सुशासन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याएको जनाएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय