निजगढमा संघीयता सबलीकरण सम्बन्धी समाचार लेखन विषयक दुई दिने  तालिम सुरु

पछिल्लाे समाचार

असार ०६ निजगढ : संघीयता सबलीकरण सम्बन्धी समाचार लेखन विषयक दुई दिने आवासीय तालिम कार्यक्रम बाराको निजगढमा आजदेखि सुरु भएको छ। आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा तथा फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टर, ललितपुरको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो। आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगा को अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख प्रशिक्षक  खिमलाल देवकोटा, पूर्व संविधानसभा सदस्य प्रल्हाद लामिछाने तथा प्रशिक्षक विनय मिश्र ले सहजीकरण गरिरहनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक खिमलाल देवकोटाले संघीय शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न सञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले संघीयतासम्बन्धी विषयवस्तुलाई तथ्यपरक, विश्लेषणात्मक र जनमुखी ढंगले प्रस्तुत गर्न पत्रकारहरू सक्षम हुनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाले सातवटै प्रदेशमध्ये मधेश प्रदेशले सबैभन्दा पहिले सञ्चारसम्बन्धी कानुन ल्याएर पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले अनलाइन सञ्चारमाध्यम दर्ताका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको बताउँदै रेडियो तथा पत्रपत्रिकाको दर्ता र नवीकरणसमेत छिट्टै मधेश प्रदेशबाटै हुने व्यवस्था लागू गरिने जानकारी दिनुभयो।

अध्यक्ष खडगाले पत्रकारिता अध्ययन गर्न चाहने पत्रकारहरूका लागि ५० प्रतिशतसम्म छात्रवृत्ति तथा सञ्चारगृहलाई आवश्यक उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने कार्यक्रमसमेत सञ्चालनमा रहेको बताउनुभयो। मधेश प्रदेशमा पछिल्लो समय खोजमूलक र विश्लेषणात्मक पत्रकारिता कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले समाचारलाई गहिराइमा पुगेर प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो। तालिमको पहिलो सत्रमा प्रशिक्षक विनय मिश्रले संघीयता कार्यान्वयनमा पत्रकारको भूमिका, संघीयतासम्बन्धी कानुनी व्यवस्था तथा प्रशासनिक संघीयताका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय