राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २४ औं वार्षिकोत्सव सम्पन्न

पछिल्लाे समाचार

फागुन १० सिमरा : बाराको जीतपुरसिमरा–१५ डुमरवानास्थित रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न गरेको छ। विविध सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम र फुड फेस्टिबलसहित आयोजना गरिएको समारोहले विद्यालय परिसर उत्सवमय बनेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर खड्काको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरूले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा आफूलाई अब्बल सावित गर्दै आएको उल्लेख गरे। स्वदेश तथा विदेशसम्म विभिन्न प्रतियोगिता र गतिविधिमा विद्यालयको सक्रिय उपस्थिति व्यवस्थापन पक्षको प्रतिबद्धताको परिणाम भएको उनीहरूको भनाइ थियो। विद्यालयका निर्देशक श्याम प्रसाद भट्टराईले शैक्षिक अवस्था, उपलब्धि र भावी योजनासहितको विस्तृत प्रगति विवरण प्रस्तुत गर्दै पछिल्ला वर्षहरूमा विद्यालयले हासिल गरेका सफलता सूचकहरू सार्वजनिक गरे। उनले गुणस्तरीय शिक्षा, अनुशासन र सीप विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले शैक्षिक जनशक्ति उत्पादनदेखि खेलकुद र अतिरिक्त क्रियाकलापसम्म उल्लेखनीय फड्को मारेको बताए। यस विद्यालयका विद्यार्थीले मधेशबाट पहिलो पटक परराष्ट्र मन्त्रालयमा प्रतिनिधित्व गर्न सफल भएको उल्लेख गर्दै उनले यसलाई विद्यालयको शैक्षिक प्रगतिका रूपमा व्याख्या गरे।
नगरप्रमुख पौडेलले नयाँ शैक्षिक वर्ष सुरु हुनु अघि शिक्षा ऐन र नियमावलीको अध्ययन गरी आवश्यक राय सुझावसहित शैक्षिक सुधार अघि बढाउनुपर्नेमा जोड दिए। विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराउने गरी तयारी गर्नुपर्ने उनको भनाइ थियो।

आधारभूत तहको नतिजा सुधारका लागि उपमहानगरपालिकाले अबदेखि कक्षा ५ को परीक्षा समेत आफैं सञ्चालन गर्ने तयारी थालेको जानकारी दिँदै उनले यस अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले सामुदायिक विद्यालयमा उपमहानगरले सेनिटरी प्याड उपलब्ध गराउने तर संस्थागत विद्यालयमा त्यस्तो सुविधा नदिएको विषयमा प्रश्न उठाए। “संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी पनि यही समाजका छोरीबहिनी हुन्,” उनले भने।

वार्षिकोत्सवको अवसरमा वर्ष अभिभावक सम्मानबाट शिला बहादुर गुरुङ र राजेश्वर प्रसाद चौधरी सम्मानित भए। उत्कृष्ट कर्मचारी सम्मान अनिता दुलाल चौधरीलाई प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले फुड फेस्टिबल आयोजना गर्नुका साथै विभिन्न संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए। अभिभावकहरूको उत्साहजनक सहभागिताले समारोहलाई अझ अर्थपूर्ण बनाएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक किशोरबाबु श्रेष्ठले गरेका थिए।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय