असार १९ सिमरा । नेपालको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र रहेका चार शैक्षिक संस्थालाई स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको छ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच सूर्य नेपाल प्रालिले सम्बन्धित विद्यालय तथा कलेजका प्रधानाध्यापकलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो। सूर्य नेपाल प्रालिका व्यवस्थापक सुरेशकाजी श्रेष्ठका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरालाई ७ थान, सिमरा कलेजलाई ४ थान, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयालाई २ थान तथा जनता माध्यमिक विद्यालय रजघट्टालाई २ थान स्मार्ट डिजिटल बोर्ड प्रदान गरिएको छ।

उहाँका अनुसार शैक्षिक क्षेत्रमा प्रविधिमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले उपलब्ध गराइएका यी डिजिटल बोर्डमार्फत विद्यालयमा आधुनिक र प्रभावकारी पठनपाठन सञ्चालन भइरहेको छ।
सूर्य नेपाल प्रालिका सेक्युरिटी म्यानेजर यज्ञबहादुर आलेले विश्व समुदाय प्रविधिमैत्री बन्दै गइरहेको वर्तमान अवस्थामा यस क्षेत्रका विद्यार्थी पनि आधुनिक प्रविधिसँग परिचित र दक्ष बनून् भन्ने उद्देश्यले डिजिटल बोर्ड सहयोग गरिएको बताउनुभयो। उहाँले उपलब्ध गराइएका उपकरणको सही सदुपयोग गर्न विद्यालयलाई आग्रह समेत गर्नुभयो।
स्मार्ट डिजिटल बोर्ड प्राप्त भएपछि विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिले दाता संस्था सूर्य नेपाल प्रालिप्रति आभार व्यक्त गरेका छन्। सूर्य नेपाल प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खानेपानी, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा समुदायको समग्र विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीले स्थानीय समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

