परवानीपुमा बिउ उत्पादन तथा व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सुरु

पछिल्लाे समाचार

असार २० सिमरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान निर्देशनालय परवानीपुरको सभाहलमा बिउ उत्पादन तथा व्यवस्थापन सम्बन्धी तीनदिने तालिम शनिवारदेखि सुरु भएको छ। कृषक, कृषि प्राविधिक, सहकारी तथा बीउ व्यवसायसँग आबद्ध व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहरभवन, ललितपुरका वरिष्ठ बाली विकास अधिकृत डा. प्रकाश आचार्य लगायतका अनुभवी प्रशिक्षकहरूले सहजीकरण गरिरहेका छन्। तालिममा गुणस्तरीय बीउ उत्पादनका आधारभूत सिद्धान्त, बीउ उत्पादन प्रविधि, बालीअनुसार बीउ उत्पादन गर्ने विधि, खेत छनोट, बालीको पृथकीकरण दूरी (Isolation Distance), रोग तथा कीरा व्यवस्थापन, बीउ संकलन, प्रशोधन, ग्रेडिङ, भण्डारण, प्याकेजिङ तथा बजार व्यवस्थापनका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

यस्तै, बीउको अंकुरण क्षमता परीक्षण, शुद्धता परीक्षण, चिस्यान व्यवस्थापन, गुणस्तर कायम गर्ने उपाय, प्रमाणीकरण प्रक्रिया, लेबलिङ तथा ट्रेसबिलिटी प्रणाली, बीउ ऐन तथा नियमावली, बीउ व्यवसाय सञ्चालनसम्बन्धी कानुनी व्यवस्था र बीउको गुणस्तर परीक्षणका व्यावहारिक पक्षबारे पनि सहभागीलाई विस्तृत जानकारी गराइने कार्यक्रम रहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बारा कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत राम्बलम प्रसाद साहका अनुसार हालसम्म अधिकांश स्थानमा प्राविधिकको सिफारिसका आधारमा मात्र बीउ बिक्री हुँदै आएको अवस्था रहेकाले अब त्यसलाई कानुनी मापदण्डअनुसार व्यवस्थित, पारदर्शी र गुणस्तरीय प्रणालीमा रूपान्तरण गर्न तालिम सञ्चालन गरिएको हो।

उनले कानुनअनुसार कुनै पनि बीउ बिक्री–वितरण गर्न गुणस्तर प्रमाणीकरण, प्रमाणीकरण ट्याग तथा तालिम प्राप्त व्यवसायीको प्रमाणपत्र अनिवार्य हुने बताए। गुणस्तरीय बीउ उत्पादन र वितरणले उत्पादन वृद्धि, कृषकको आम्दानी अभिवृद्धि तथा कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले तालिमबाट सहभागीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे।तीन दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूले व्यावहारिक अभ्याससहित बीउ उत्पादनदेखि गुणस्तर परीक्षण, प्रमाणीकरण, सुरक्षित भण्डारण र बजारीकरणसम्मका सम्पूर्ण प्रक्रियाबारे दक्षता हासिल गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। तालिमले स्थानीय स्तरमा गुणस्तरीय बीउ उत्पादन र सहज उपलब्धता बढाउनुका साथै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय