आध्यात्मिक जागृतिद्वारा विश्व नवनिर्माण अभियानको शुभारम्भ

पछिल्लाे समाचार

असार २० जीतपुर : ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, जीतपुरको आयोजनामा “आध्यात्मिक जागृतिद्वारा विश्व नवनिर्माण” अभियानको शुभारम्भ गरिएको छ। आयोजित समारोहमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र गुप्ताले नवनिर्वाचित कार्यसमितिको तर्फबाट ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, जीतपुरप्रति धन्यवाद व्यक्त गर्दै आध्यात्मिक अभियानले समाजमा सकारात्मक सोच, नैतिकता र आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ताले बाबाको दरबारमा आउँदा प्राप्त हुने शान्तिको अनुभूति अन्यत्र सहजै प्राप्त नहुने बताउनुभयो। यस्ता आध्यात्मिक कार्यक्रममा सहभागी हुँदा मनमा रहेका दुःख, चिन्ता र तनाव कम हुने अनुभव आफूले गरेको उल्लेख गर्दै समाजमा शान्ति र सकारात्मक ऊर्जा फैलाउन यस्ता कार्यक्रमको निरन्तर आयोजना हुनुपर्नेमा जोड दिनुभयो।

ब्रह्मकुमारीका अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनर विजयराज सिग्देलले विश्व परिवर्तनको आधार व्यक्तिको आत्मपरिवर्तन रहेको बताउनुभयो। उहाँले मानिसले बाहिरी उपलब्धिभन्दा पहिले आफ्नो सोच, व्यवहार र संस्कारलाई सकारात्मक बनाउनु आवश्यक रहेको उल्लेख गर्दै राजयोग ध्यानले आत्मविश्वास, मानसिक शान्ति र नैतिक जीवनशैली विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो। आध्यात्मिक चेतनाको विकासमार्फत परिवार, समाज र अन्ततः विश्वमै शान्ति र समृद्धि स्थापना गर्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रममा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरकी सञ्चालिका ब्रह्मकुमारी रेनु दिदीले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका ब्रह्मकुमारी रबिना दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, उद्योगी–व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय