रिलायन्स मिल्सविरुद्ध स्थानीयको आक्रोश, प्रदूषणको छानबिन गर्न प्रशासनलाई ज्ञापनपत्र

पछिल्लाे समाचार

असार २० सिमरा । कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्स सुगर मिल्सबाट निस्किएको फोहोर पानीका कारण बँगरी नदी र आसपासको वातावरण प्रदूषित भएको आरोप लगाउँदै स्थानीयवासी तथा समाजसेवीहरूले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएका छन्। स्थानीयवासीका अनुसार उद्योगबाट निस्किएको फोहोर पानी नदीमा मिसिँदा नदीको पानीको रङ, गन्ध र गुणस्तरमा परिवर्तन आएको छ। यसले जलचर, कृषि, पशुपालन तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको उनीहरूको दाबी छ। स्थानीय नेता रामचन्द्र प्यासीले उद्योगको लापरबाहीका कारण पटक–पटक नदी प्रदूषित हुँदै आएको बताउनुभयो। समाजसेवी हिरामती आर्य (कुशवाहा)ले सम्बन्धित निकायमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी अनुगमन र कारबाही नभएको गुनासो गर्नुभयो।

ज्ञापनपत्रमा उद्योगबाट प्रशोधन नगरी फोहोर पानी नदीमा मिसाइएको, धुवाँ, धुलो र दुर्गन्धका कारण स्थानीयवासीको स्वास्थ्यमा जोखिम बढेको तथा खेतीपाती, पशुपालन र वातावरणमा दीर्घकालीन असर परेको उल्लेख गरिएको छ। उद्योगबाट हुने प्रदूषणको स्वतन्त्र र वैज्ञानिक छानबिन, नदी, माटो र हावाको गुणस्तर परीक्षण, वातावरणीय मापदण्ड पालना भए–नभएको अनुगमन, दोषी पाइए कानुनी कारबाही, प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, क्षतिपूर्ति तथा उद्योगको फोहोर पानी प्रशोधन प्रणालीको नियमित अनुगमन गर्न माग गरिएको छ।ज्ञापनपत्र बुझ्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले सोमबार प्राविधिक टोलीसहित रिलायन्स सुगर मिल्सको स्थलगत अनुगमन गरिने जानकारी दिनुभयो। उहाँले अनुगमनपछि वातावरण प्रदूषण रोक्न आवश्यक उपाय अपनाउन उद्योग प्रशासनलाई निर्देशन दिइने बताउनुभयो।

ज्ञापनपत्र बुझाउने टोलीमा समाजसेवी हिरामती आर्य (कुशवाहा), फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी, आत्माराम साह, रामचन्द्र प्यासी, जयप्रकाश दास, सुशील साहलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरीका प्रतिनिधि तथा अन्य सुरक्षा अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।यता, रिलायन्स सुगर मिल्सले भने स्थानीयवासीले लगाएका आरोपबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

spot_imgspot_img
spot_img

लोकप्रिय