जीतपुरसिमरा २० द्वारा लक्षित वर्गका समुदायलाई सामुदायिक प्रयोगका लागि भाँडावर्तन वितरण

पछिल्लाे समाचार

असार २१ सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २० ले लक्षित वर्गका विभिन्न समुदायलाई सामुदायिक प्रयोगका लागि भाँडावर्तन वितरण गरेको छ। वडाध्यक्ष रसुल मियाँको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा कार्यालयको पाँच लाख रुपैयाँ बजेटबाट खरिद गरिएको भाँडावर्तन पाँच समुदायलाई हस्तान्तरण गरिएको हो। ती सामग्री विवाह, व्रतबन्ध, धार्मिक तथा सामाजिक कार्यक्रमलगायत सामुदायिक प्रयोजनका लागि प्रयोग गर्न सकिने जनाइएको छ। कार्यक्रममा वडाध्यक्ष रसुल मियाँले गत आर्थिक वर्षमा एक समुदायलाई भाँडावर्तन वितरण गरिएको र यस वर्ष थप पाँच समुदायलाई समेटिएको जानकारी दिनुभयो।

उहाँले अझै छुटेका समुदायलाई आगामी आर्थिक वर्षमा पनि यस्तै कार्यक्रममार्फत समेटिने बताउँदै सामुदायिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो। प्रमुख अतिथि प्रदेशसभा सदस्य देवनारायण चौधरीले यस्ता कार्यक्रमले समुदायबीच सहकार्य, सामाजिक सद्भाव तथा आर्थिक भार न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय तहका जनमुखी कार्यक्रमले सामाजिक एकता, सामुदायिक विकास र स्थानीय सहभागितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा समुदायका प्रतिनिधिहरूले वडाले उपलब्ध गराएको सामुदायिक भाँडावर्तनले व्यक्तिगत रूपमा महँगो भाडामा सामग्री लिनुपर्ने बाध्यता हट्ने, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भन्दै सामग्रीको संरक्षण र प्रभावकारी उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण वडा सचिव हरिकिशोर साहले गर्नुभएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय