१८ बैशाख,अखिलेश कुमार यादव । बारा : बाराको कोल्हवी नगरपालिकाले नगरवासीलाई लोकसेवा तयारी निःशुल्क पढाउन सुरु गरेको छ । नायव शुब्बा/सहायक पाँचौ र खरिदार/सहायक चौथोको तयारी कक्षा दिन सुरु गरेको हो ।नि:शुल्क लोकसेवा तयारी कक्षाको मंगलबार एक कार्यक्रमको बिच कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले उद्घाटन गरेको छ । कोल्हवी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा समाज कल्याण उपशाखा तर्फ विनियोजित बजेटबाट नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने लक्षित वर्गका लागि नायव सुब्बा वा पाँचौ तहका लागि निःशुल्क रुपमा लोकसेवा तयारी कक्षा संचालन हुन लागेको हो ।
कोल्हवी नगरपालिका -२ का वडाध्यक्ष गोपाल प्रसाद अधिकारीको सभाध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । उद्वघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले समाज परिवर्तनका संवाहक युवाहरूको लागि यो तालिम निकै प्रभावकारी हुने बताउनु भयो । उहाँले युवाहरुमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताउनुभयो । नगरप्रमुख चौधरीले अब राज्यका सबै तह र तप्कामा यस नगरपालिकाका युवायुवतीहरुको पहुँच पुग्ने छ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि बताउनु भयो ।
समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै नगरप्रमुख चौधरीले युवाहरु जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।उद्घाटन कार्यक्रममा बोल्दै वडा न २ का वडाध्यक्ष गोपाल प्रसाद अधिकारीले नगरपालिकाका युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि आफूहरूले नि:शुल्क तयारी कक्षा सञ्चालन गरेको बताउनु भयो ।
कार्यक्रममा कोल्हबी न पा १ का वडा अध्यक्ष राजहरण चौधरी , सहकारी शाखा प्रमुख पुरुषोत्तम ओलि , राजस्व शाखा प्रमुख यज्ञ राज आचार्य लगायतको उपस्थिति रहेको थियो । नि:शुल्क लोक सेवा तयारी कक्षा बैशाख १९ गते बिहान ७ बजे देखि नियमित संचालन हुनेछ । कक्षा संचालन अवधी २ महिनाको रहने र पांच जना शिक्षकहरुले अध्यापन गराउने छ I उक्त निशुल्क लोक सेवा तयारी कक्षामा ६७ जना बिधार्थीहरुको सहभागिता रहने छ