०५ माघ , सिमराः मानव अधिकार एलाइन्स मधेश प्रदेश अधिवेशन सम्पन्न भएको छ ।सिमरामा शनिवार मानव अधिकार एलाइन्स मधेश प्रदेशको अधिवेशन सम्पन्न भएको हो ।अधिवेशनले अनिल तिवारीको नेतृत्वमा १७ सदस्यीय मधेस प्रदेश कमिटी चयन गरेको छ ।कमिटीको उपाध्यक्षमा तेजबहादुर खड्का, सचिवमा शिला झा, कोषाध्यक्षमा गौरी न्यौपाने, सहसचिवमा लक्ष्मी बराल रहेका छन् भने सदस्यमा सञ्जिव यादव, नरेश जयसवाल तीर्थ गौतम, दीपेन्द्र साह, प्रमोद घिमिरेलगायत चयन भएका छन् । कमिटीलाई आगामी दिनमा पूर्णता दिएर अघि बढाउने नवनिर्वाचित अध्यक्ष तिवारीले जानकारी दिएका छन् ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले मानव अधिकार रक्षा र न्यायका लागि सक्रियताका साथ काम गर्न आग्रह गरेका छन् ।मानव अधिकार एलाइन्स मधेश प्रदेशको अधिवेशनमा बोल्दै नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेश एलायन्सले उल्लेखनीय काम गर्नेछ भनेर आफूले अपेक्षा गरेको बताए । ‘जिल्लामा जहाँ मानवअधिकारको हनन् हुन्छ, त्यहाँ मधेश प्रदेश एलायन्स पुग्नुपर्छ,’ उनले भने, ‘मानवअधिकारको रक्षामा सदैव पहरेदारको रुपमा उभिनुपर्छ ।’त्यस्तै कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य ज्वालाकुमारी साहले मानव अधिकारसम्बन्धी निर्देशिकाहरु पालना गर्दै एलायन्स मधेश प्रदेश अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सचिव मनोज पौडेल, मानव अधिकार एलाइन्सका केन्द्रीय महासचिव विदुर सुवेदी, प्रदेश इन्चार्ज रामस्वरुप सदाय, नेकपा एमालेका बाराका अध्यक्ष अध्यानन्द पाण्डेलगायतले मन्तब्य राखेका थिए । मानव अधिकार एलाइन्स मधेस प्रदेशका अध्यक्ष देवराज पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

