१६ माघ।सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा स्थित लोटस एकेडेमीको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।जीतपुरसिमराकै उत्कृष्ट विद्यालयको रुपमा रहेको लोटस एकेडेमीले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको आफ्नै परिसरमा आयोजित समारोहको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले गरेका थिए । विद्यालयको प्रांगणमा बुधबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्रछात्रा तथा शिक्षिकाहरूले नृत्य तथा गायनकला प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले लोटस एकेडेमीले बालबालिकालाई गुणस्तरीय शिक्षा दिइरहेकोमा खुसी व्यक्त गर्दै भविष्यमा विद्यालयको थप उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । ‘हाम्रो टोलमा खुलेको यस विद्यालयले स्थापनाकालदेखि नै राम्रो गर्दै आएको छ,’ अधिकारीले भन्नुभयो, ‘भविष्यमा अझै प्रगति भएको र यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनेको देख्न पाइयोस्, शुभकामना छ ।’
कार्यक्रममा विद्यालयले भोला प्रसाद अधिकारी लगायतका व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेको थियो भने विभिन्न विधाका पुरस्कारसमेत वितरण गरेको थियो ।उक्त वार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रममा जीतपुरसिमरा उपमहानगरका विभिन्न विद्यालयका प्रीन्सिपल लगाएत अभिभावकहरुको उपस्थिति रहेको थियो ।