चैते धानखेती गर्ने किसानलाई देवताल गाउँपालिकाले अनुदानमा बीउ वितरण गर्दै

पछिल्लाे समाचार

०९ फाल्गुन,कलैया : चैते धानखेती गर्ने किसानलाई बाराको देवताल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आव २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो । किसानको मागका आधारमा बीउ वितरण गर्न सुरु गरिएको देवताल गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख अभय यादवले बताउनुभयो ।

“धान उत्पादनमा गाउँपालिकालई आत्मनिर्भर बनाउनका लागि दुई वर्षदेखि निरन्तररुपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ”, उहाँले भन्नुभयो, “चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दोरुपमा रहेको छ ।” किसानलाई अनुदानमा सिँचाइ सुविधाका लागि पम्पसेट, विद्युतीय मोटर उपलब्ध गराउने कार्यसँगै पुराना कुलो मर्मत गरी सञ्चालन गरिन थालेपछि चैते धानखेती गर्ने किसान बढ्दै गएको उहाँको भनाइ छ । पर्याप्त सिँचाइका साधन उपलब्ध हुन थालेपछि किसानले हर्दिनाथ जातको चैते धानखेतीपश्चात बर्खे धानखेती गरेर दोहोरो फाइदा लिन थालेको कृषि प्राबिधिक जयप्रकाश यादवले बताउनुभयो ।

बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यस वर्ष पनि अनुदानको कार्यक्रम राखिएको देवताल गाउँपालिकाको अध्यक्ष उदय यादवले जानकारी दिनुभयो ।गत वर्षदेखि वितरण गरिएको चैते ५ जातको बीउबाट उत्पादित धान मसिनो, खान पनि स्वादिलो र प्रतिरोपनी पाँचदेखि सात मुरीसम्म फल्ने गरेको कृषक अमिरी साह तेलीले बताउनुभयो। “चैते धानमा बर्खे धानको तुलनामा रोग कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन”,कृषि प्राबिधिक यादवले भन्नुभयो । फागुनमा बीउ राखेर किसानले चैतभित्र यस धानलाई रोप्ने गरेका छन् ।

रोपेको चार महिनामा धान पाक्ने गर्दछ । असारमा चैते धान काटेर किसानले वर्षे धानखेती गर्दै आएका छन् । चैते धानको बीउ अनुदानमा लगेका किसानले अनिवार्यरुपमा धान रोपेकै हुनुपर्ने नियम गाउँपालिकाले बनाएको छ । देवताल गाउँपालिकाको अध्यक्ष उदय यादव र प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादवले किसानहरुलाई ५० प्रतिशत अनुदानमा चैते धानको बिउ वितरण गर्नुभएको थियो ।बिहिवार देखि अनुदानमा दिन लागेको चैते धानको बिउ शनिवार सम्म वितरण गरिने कृषि शाखाले जनाएको छ ।बिहिवार ४५ जना किसानलाई अनुदानमा चैते धानको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख अभय यादवले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय