अखिलेश यादव ।२५ फाल्गुन।सिमरा : ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा साना किसान विकास लघुवित्त वित्तीय संस्था हेटौंडाको सहकार्य र साना किसान कृषि सहकारी संस्था सिमराको आयोजनामा सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ।साना किसान सहकारी संस्था लिमिटेड सिमराको सभाहलमा शनिवार एक दिने सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण सम्बन्धी तालिम भएको छ।

सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण सम्बन्धी तालिममा बोल्दै साना किसान सहकारी संस्था सिमराकी अध्यक्ष कमला रिमालले संस्थाको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।’ अध्यक्ष रिमालले देशको आर्थिक स्थिति जर्जर अवस्थामा पुगेको र केही सहकारीका गलत क्रियाकलापका कारण सहकारीहरु मर्कामा परेको बताए ।

तालिममा विभिन्न समूहका सदस्यहरूले सहकारीको प्रभावकारी सञ्चालन, नेतृत्व क्षमता विकास र वित्तीय व्यवस्थापनका बारेमा जानकारी प्राप्त गरेका छन्। कार्यक्रमकी प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले महिलाको आर्थिक सशक्तिकरणमा सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले भनिन्, “महिलाहरूलाई आत्मनिर्भर बनाउन र निर्णय प्रक्रियामा सक्रिय बनाउन यस्ता तालिमहरूले ठूलो योगदान पुर्याउँछ।

सहकारीहरूले महिला सदस्यहरूलाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्छ।”सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण सम्बन्धी तालिममा नेपाल कृषि सहकारी संस्था लिमिटेडका केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक प्रकाश पाण्डेले शेयर सदस्यहरुलाई सहकारी संस्था संग सम्बन्धित रहेको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सहभागी महिलाहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन् भने आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण सम्बन्धी एक दिने तालिम कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्र वाईबा ,साना किसान सहकारी संस्थाको सचिव निरा पुरि, सहजकर्ता कुलोतम पोखरे लगाएत शेयर सदस्यको उपस्थिति रहेको थियो ।