०८ चैत्र।बारा : परवानीपुर गाउँपालिका वडा न ५ को कार्यालयले विभिन्न उद्योग कलकारखाना र व्यवसायहरुको अनुगमन गरेको छ ।वडा नं ५ को वडा समितिको निर्णयानुसार वडा अध्यक्ष रामेश्वर साह कलवारको नेतृत्वमा वडा सदस्य श्री दारा सिंह, पालिकाका कर्मचारीहरू तथा गाउँप्रहरीहरूको सहभागितामा एक अनुगमन टोली गठन गरी वडा नं ५ मा अवस्थित विभिन्न उद्योग, कलकारखाना, तथा व्यवसायहरूको अनुगमन गरिएको छ।

अनुगमनको क्रममा व्यवसायहरूको व्यवसाय दर्ता तथा नवीकरण, नक्सा पास गराएका/नगरेका, मालपोत कर, घर बहाल कर, व्यवसाय कर तिरे/नतिरेका लगायत व्यवसायसँग सम्बन्धित विभिन्न कानुनी तथा प्राविधिक मापदण्डहरूको पालना भए/नभएको जाँच गरिएको थियो। अनुगमनका क्रममा कतिपय व्यवसायहरूले आवश्यक प्रक्रिया पूरा नगरेको पाइएकाले उनीहरूलाई ७ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको वडा अध्यक्ष रामेश्वर साह कलवारले जानकारी दिनुभयो। उहाँका अनुसार व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेका, कर नतिरेका वा अन्य कानुनी प्रक्रिया पूरा नगरेका व्यवसायहरूले समयमा नै आवश्यक प्रक्रिया पूरा नगरेमा कानूनअनुसार कारबाही गरिनेछ।

वडाले नियमित रूपमा यस्ता अनुगमन कार्यक्रमलाई निरन्तरता दिँदै व्यवसायीहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरिरहेको पनि वडाध्यक्ष कलवारले बताउनुभयो। साथै, उहाँले व्यवसायीहरूलाई निर्धारित मापदण्ड पूरा गर्दै कानुनी प्रक्रियालाई पालना गर्न आग्रह गर्नुभयो, जसले व्यवसायहरूको दिगो विकास तथा स्थानीय प्रशासनको पारदर्शिता सुनिश्चित गर्नेछ।
