अखिलेश यादव।०९ चैत्र।सिमरा । – जीतपुरसिमरा उपमहानगरपालिकाको ११औं हिउँदे अधिवेशन शनिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरामा सम्पन्न भएको छ। अधिवेशनमा चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको समीक्षासहित संशोधित बजेट पेश गरिएको छ।
नगरसभामा नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले आ.व. २०८१/०८२ को फाल्गुण मसान्तसम्मको बजेट समीक्षा प्रस्तुत गर्दै आन्तरिक स्रोत परिचालनमा अपेक्षित प्रगति नभएको बताए। चालू आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाख रुपैयाँ को बजेट विनियोजन गरिए पनि फागुन मसान्तसम्म कुल आम्दानी ९१ करोड ८३ लाख ४७ हजार रुपैयाँ मात्र भएको जानकारी दिए उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि आन्तरिक स्रोततर्फ ६६ करोड ५९ लाख ९१ हजार १६० तथा संघीय, प्रदेश र स्थानीय राजस्व बाँडफाँट, अनुदान र जनसहभागिता गरी कुल २ अर्ब १० करोड ५० लाख रुपैयाँ को बजेट विनियोजन गरेको थियो। फागुन मसान्तसम्म आन्तरिक आय तर्फ १० करोड ३७ हजार, समानीकरण अनुदान १९ करोड २३ लाख ७५ हजार, राजस्व बाँडफाँट १४ करोड ४७ लाख ९३ हजार, सशर्त अनुदान ४० करोड ४४ लाख ७९ हजार, संघीय समपुरक अनुदान ७ करोड ३० लाख गरी जम्मा ९१ करोड ८३ लाख ४७ हजार आम्दानी भएको छ।

हालसम्मको खर्च प्रगति ४३.६२% मात्र रहेको छ। चालु तर्फ ४९ करोड ४४ लाख ५२ हजार र पूँजीगत तर्फ २६ करोड ५२ लाख ६७ हजार गरी जम्मा ७५ करोड १७ लाख २० हजार ५२० रुपैयाँ खर्च भएको उपप्रमुख भोला प्रसाद अधिकारीले पेश गरेको संशोधित बजेटमा उल्लेख गरिएको छ।नगरप्रमुख राजन पौडेलले नगरसभामा संशोधित बजेट पेश गर्दै चालू वर्षको बजेटमा केही परिवर्तन गरिएको जानकारी गराए। संशोधित बजेटअनुसार वडास्तरको कुल बजेट १२ करोड १४ लाख ६ हजार बाट बढाएर २७ करोड रुपैयाँ पुर्याइएको छ।

नगर उपप्रमुख भोला प्रसाद अधिकारीले नगरसभामा संशोधित बजेट प्रस्तुत गर्दै वडास्तरमा बजेट सिलिङ्ग वृद्धि गरिएको जानकारी गराए। संशोधित बजेटअनुसार प्रति वडा न्यूनतम ५६ लाख २५ हजारको सिलिङ्ग तोकिएको छ भने वडागत जनसंख्या, भुगोल, भौतिक पूर्वाधार विकास र राजस्व संकलनलाई मुख्य आधार मानी बजेट विनियोजन गरिएको छ। यसअन्तर्गत, जनसंख्यालाई ३०%, भुगोललाई २०%, भौतिक पूर्वाधार विकासलाई २०% र राजस्व संकलनलाई ३०% भार तोकिएको छ।
नगरपालिकाले विकासलाई तीव्रता दिन चालु खर्चलाई सीमित गर्दै पूँजीगत खर्चमा वृद्धि गर्ने नीति अवलम्बन गरेको नगरप्रमुख पौडेलले बताए।नगरपालिकाले चालु खर्च १ अर्ब १६ करोड २४ लाख ६१ हजार र पूँजीगत खर्च ९४ करोड २५ लाख २८ हजार ८४० गरी कुल २ अर्ब १० करोड ५० लाख रुपैयाँ को बजेट पुनः संरचना गर्दै वडास्तरका योजनाहरूलाई प्राथमिकता दिएको छ। नगरस्तरीय योजनाबाट आवश्यक बजेट रकमान्तर गरी वडागत योजनाहरूलाई सन्तुलित बनाइएको छ।

उपप्रमुख भोला प्रसाद अधिकारीले बजेटलाई जनमुखी, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै प्रत्येक वडामा पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको बताए। उनले सबै नगरसभा सदस्यलाई बजेट कार्यान्वयनमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। नगरप्रमुख पौडेलले प्रस्तुत बजेट, योजना तथा कार्यक्रमहरू जीतपुरसिमरा उपमहानगरपालिकाको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले नगरसभाका सम्पूर्ण सदस्यहरूलाई विनियोजित बजेटलाई समयमै कार्यान्वयन गर्न आह्वान गर्दै सभाको सफल समापन घोषणा गरे।नगरसभामा प्रस्तुत संशोधित बजेट, योजना तथा कार्यक्रमहरूले जीतपुरसिमरा उपमहानगरपालिकाको समग्र विकासलाई गति दिने विश्वास गरिएको छ। नगर प्रमुखले बजेट समयमै कार्यान्वयन गर्न नगरसभा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे।
