१३ चैत्र,बारा – बारा बाट लागुऔषध गाँजा सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४, औराहा स्थित दुधौरा खोलामा लागुऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितले जानकारी दिनुभयो । रतनपुरबाट बकुलियातर्फ जाँदै गरेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, वीरगंजको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक प्रदीप प्रसाद पाण्डेको नेतृत्वमा खटिएको टोलीले टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा झन्डै १५० किलोग्राम गाँजा (६ बोरा) बरामद गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सिमरा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ।गाँजा सहित प्रहरीले जितपुर सिमरा उ.म.न.पा.–२२, चक्री टोलका ४२ वर्षीय बुद्ध घलान ,जितपुर सिमरा उ.म.न.पा.–८ का ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीर बहादुर डम्वा , मकवानपुर, हेटौंडा उ.म.न.पा.–१५, रातोमाटीका २७ वर्षीय सोमलाल पाख्रीनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।