स्ट्रीट फुड व्यवसायीका लागि खाद्य स्वच्छता प्रशिक्षण सम्पन्न

पछिल्लाे समाचार

अखिलेश यादव ।२१ चैत्र,सिमरा – जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जको सहकार्यमा स्ट्रीट फुड व्यवसायीहरूका लागि खाद्य स्वच्छता सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवार नगर उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको छ। चाट, सातु, स्विट्स लगायतका व्यवसायीहरूलाई लक्षित गर्दै आयोजित यस कार्यक्रममा सरसफाइ, खाद्य सुरक्षाका मापदण्ड तथा उपभोक्ताको स्वास्थ्य सुरक्षाका बारेमा विशेष जानकारी प्रदान गरिएको थियो।कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका प्रमुख सुरेश सिंहले गरेका थिए।

प्रमुख अतिथिका रूपमा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई रहेका थिए भने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने विशेष अतिथिका रूपमा उपस्थित थिए। होटल तथा पर्यटन व्यवसायी संघ बाराका कार्यवाहक अध्यक्ष शम्भु खड्गी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरू, उपमहानगरका कर्मचारी, उद्यमी व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईलाई कार्यालयमा स्वागत तथा सम्मान गरिएको थियो। साथै, उद्योगी व्यवसायीहरूको हितमा गर्न सकिने विविध क्रियाकलापहरूको विषयमा अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।खाद्य स्वच्छता प्रशिक्षणमा सहभागी व्यवसायीहरूले कार्यक्रम निकै उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। एक सहभागी व्यवसायीले भने, “हामीले दैनिक रूपमा प्रयोग गर्ने सामग्रीहरूको स्वच्छता कसरी कायम गर्ने, उपभोक्ताको स्वास्थ्यलाई कसरी ध्यानमा राख्ने भन्ने ज्ञान प्राप्त गर्यौं। यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्छ।

“जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले व्यवसायीहरूलाई खाद्य स्वच्छताका मापदण्ड अपनाउन प्रेरित गर्दै भने, “हामी उपभोक्तालाई गुणस्तरीय खाद्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं। यस्तो प्रशिक्षण व्यवसायको दीर्घकालीन सफलताका लागि महत्त्वपूर्ण छ।“कार्यक्रमको समापन गर्दै अध्यक्ष सुरेश सिंहले खाद्य सुरक्षाको महत्त्वबारे प्रकाश पार्दै, नियमित निरीक्षण तथा प्रशिक्षणमार्फत व्यवसायीहरूलाई अझ बढी सचेत बनाउन कार्यालय प्रतिबद्ध रहेको बताए।कार्यक्रमको सहजीकरण जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको महासचिव प्रकाश गिरीले गरेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय