अखिलेश यादव ।०४ बैशाख ।सिमरा ः जीतपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयहरुले स्थानीय तहसँग कुनै समन्वय नगरी योजनाहरु सञ्चालन गरेको भन्दै आपत्ति जनाएको छ।नगर प्रमुख राजन पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश जनकपुरधामलाई लेखी पठाइएको पत्रमा संविधानको धारा २३२ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, सहअस्तित्व र समन्वयको भावना विपरित योजनाहरु सञ्चालन भइरहेको उल्लेख गरिएको छ।
उपमहानगरपालिकाका अनुसार विकास निर्माणका कार्यहरु सञ्चालन गर्न उपभोक्ता समितिहरु दोहोर्याएर गठन गरिएको छ, जसले गर्दा ठूलो मात्रामा सरकारी रकमको दोहन हुने सम्भावना देखिएको छ। यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि विभिन्न उजुरीहरु परेको जनाइएको छ।पत्रमा भनिएको छ, “प्रदेश सरकारबाट उपभोक्ता समिति मार्फत योजनाहरु सञ्चालन गर्ने भन्दै विचौलियाहरु हावी भएका छन्, जुन विषयमा विभिन्न सञ्चारमाध्यम र प्रदेश सभामा समेत पटकपटक आवाज उठिसकेको छ।
”जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माणमा गुणस्तर र सुशासन प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेको भन्दै स्थानीय तहको संवैधानिक अधिकार अन्तर्गत आफ्ना अभिलेख र तथ्याङ्क संकलन गर्ने दायित्व रहेको स्मरण गराएको छ।अन्त्यमा उपमहानगरपालिकाले २०८१÷८२ को आर्थिक वर्षमा प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरु र गठन गरिएका उपभोक्ता समितिहरुको विवरण पठाउन अनुरोध गर्दै आवश्यक निर्देशन दिन आग्रह गरेको छ।