०४ बैशाख : सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा कार्यालयहरूबाट उपभोक्ता समिति गठन गरी सञ्चालन भइरहेका योजनाहरूमा आवश्यक समन्वय नभएकोप्रति गम्भीर असन्तुष्टि जनाएको छ। नगर प्रमुख राजन पौडेलद्वारा हस्ताक्षरित पत्रमा संविधानले तोकेको संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयको भावना विपरीत प्रदेश सरकारले आफ्नै निकायमार्फत योजना कार्यान्वयन गरिरहेको उल्लेख गरिएको छ। उपमहानगरपालिकाले यस्ता योजनाहरू दोहोरोपना र सरकारी रकमको अनावश्यक दोहनतर्फ उन्मुख भएको चेतावनीसमेत दिएको छ।
उपमहानगरपालिकाले विभिन्न सञ्चार माध्यम तथा जनगुनासोहरूमा उठेका विषयहरूको आधारमा प्रदेश सरकारबाट नगर क्षेत्रभित्र गरिएका योजनाहरूको प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। नगरपालिकाका अनुसार यसले विकास निर्माणका कामहरूमा एकरूपता ल्याउनुका साथै सुशासन र गुणस्तरमा समेत योगदान पुर्याउनेछ।त्यस्तै, आ.व. २०८२/०८३ को बजेट निर्माणको चरणमा रहेको उपमहानगरपालिकाले विगतको आवमा प्रदेश सरकारबाट सञ्चालन भएका योजनाहरूको विवरण सम्बन्धित वडा कार्यालयहरूमार्फत संकलन गर्ने निर्णय गरेको छ।
यसका लागि प्रमुख पौडेलले २४ वटै वडाध्यक्षहरूलाई पत्राचार गर्दै तोकिएको ढाँचामा जानकारी पठाउन निर्देशन दिएका छन्।उपमहानगरपालिकाले निर्माण कार्यका लागि अपनाउने मापदण्डहरू तयार भइसकेको अवस्थामा, ती मापदण्डअनुसार योजना सञ्चालन गर्नु अपरिहार्य भएको समेत पत्रमा उल्लेख छ।नगरले प्रदेश सरकारसँग सहकार्यका लागि आग्रह गर्दै, स्थानीय तहको संवैधानिक अधिकारको सम्मान गर्नुपर्ने मागसमेत राखेको छ।