अखिलेश यादव । ०६ बैशाख ।सिमरा : आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि तयार पारिने राजस्व नीति तथा कार्यक्रमका सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत राजस्व परामर्श समितिको आयोजनामा सिमरास्थित होटेल इच्छामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बिरगंज उद्योग वाणिज्य संघ र जीतपुरसिमरा उपमहानगर उद्योग वाणिज्य संघको सहआयोजनामा सम्पन्न भएको हो।कार्यक्रममा सहभागी व्यवसायीहरूले सरकारलाई विभिन्न गुनासो तथा सुझावहरू राखेका थिए।
ग्रे च्यानलमार्फत बिना भन्सार नेपालमा भित्रिरहेको समानले स्वदेशी उद्योग र व्यवसायमा गम्भीर असर पारेको भन्दै यसलाई तत्काल रोक्न आग्रह गरिएको थियो।सरकारले ट्याक्टरमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने तथा कृषिमा लगाइएको कर हटाउनुपर्ने माग पनि कार्यक्रममार्फत गरिएको छ।बिरगंज उद्योग वाणिज्य संघका महासचिव शिवजी प्रसाद साहले दालभन्दा गेडागुडी महँगो भइसकेको अवस्थामा उद्योग कसरी चल्ने भन्ने प्रश्न उठाउनुभयो। उहाँले एडभान्स ट्याक्सको नीतिले उद्योग सञ्चालनमा बाधा पुगेको गुनासो गर्नुभयो।
सिमराबाट पोखरा, भैरहवा र नेपालगञ्जसम्मको हवाई उडान सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने माग पनि सहभागीहरूले राखेका थिए।पर्यटनको सम्भावना बोकेको जीतपुरसिमरा उपमहानगरपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सीमावर्ती क्षेत्रमा हुने अनावश्यक चेकजाँच नियन्त्रण गर्नुपर्ने र भारतीय सवारी आवतजावतमा सहजता मिलाउनुपर्ने सुझाव मोहन शर्मा लामिछानेले दिनुभयो।व्यवसायी निशान्त गोईता, उमेश थापा र सन्जय अग्रवालले समेत उद्योग सञ्चालनमा आइरहेका विविध समस्याहरू प्रस्तुत गरे।नेपोभिट टायल्सका प्रतिनिधि शम्भुनाथ झाले अहिले नेपालमै ३ वटा टायल्स उद्योगले माग पूर्ति गर्न सक्ने अवस्थामा रहेका बेला ८ वटा उद्योग स्थापना भएसँगै बजार असन्तुलन आएको उल्लेख गर्नुभयो।
उहाँले अघोषित लोडसेडिङका कारण उद्योगहरू धराशायी बन्न थालेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।कार्यक्रममा मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले व्यवसायीहरूका आवाज र समस्यालाई नीति निर्माणमा प्राथमिकता दिन आग्रह गर्नुभयो।कार्यक्रममा व्यवसायीहरूका गुनासो र जिज्ञासाको जवाफ दिँदै राजस्व परामर्श समितिका संयोजक तथा राजस्व सचिव दिनेश कुमार घिमिरेले सुझावहरूलाई संकलन गरी आगामी बजेट र नीति निर्माणमा समावेश गरिने बताउनुभयो।त्यसैगरी, राजस्व परामर्श समितिका सदस्य सचिव एवं राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उतम कुमार खत्रीले व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार संवेदनशील रहेको भन्दै समन्वयका साथ अगाडि बढ्न आग्रह गर्नुभयो