१० बैशाख ।सिमरा : बाराको पथलैया बाट प्रहरीले ६ किलो अबैध चाँदीको गहना बराद गरेको छ। बाराबाट तुलसिपुर दाङतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट बुकरिब ६ किलो अवैध चाँदी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार मंगलबार साँझ करिब ५:३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी निरीक्षक अमृत मैनालीको नेतृत्वमा खटिएको टोलिले जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा बा.प्र.३–२५६ नम्बरको यात्रुबाहक बस रोकेर चेकजाँच गरेको थियो।
जाँचका क्रममा बसको क्याबिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरिएको कार्टुन फेला परेको थियो। शंका लागेपछि खोलेर हेर्दा उक्त कार्टुनभित्र लुकाएर राखिएको चाँदीजस्तो देखिने रेडिमेड गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरगहनाको तौल करिब ६ किलो रहेको छ भने बजार मूल्य करिब रु. १० लाख ८० हजार बराबर अनुमान गरिएको छ। प्रहरीले बरामद गरगहना नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।