०३ जेठ ।सिमरा — शिक्षा क्षेत्रमा सुधार र विद्यार्थीको समग्र विकास सुनिश्चित गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले एक महत्वपूर्ण सूचना जारी गर्दै कक्षा १ देखि ३ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा व्यक्तिगत पोर्टफोलियो र एकीकृत पाठ्यक्रम (Integrated Curriculum) अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालयबाट जारी पत्र अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रको निर्देशिका र कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१/०८२ बमोजिम पोर्टफोलियो मार्फत विद्यार्थीको सिकाइ प्रक्रिया, प्रगति र क्षमता अभिलेख राख्ने व्यवस्था तथा एकीकृत पाठ्यक्रम लागु गर्न विगतदेखि नै भनिँदै आए पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको पाइएकोले शैक्षिक सत्र २०८२ देखि यसको पूर्ण कार्यान्वयन अनिवार्य गरिएको हो।
उपमहानगरपालिकाले सबै विद्यालयलाई यो सूचना पालन गर्न कडाइका साथ निर्देशन दिएको छ र यसलाई बेवास्ता गर्ने संस्थाहरूमाथि नियमानुसारको कारवाही हुने चेतावनी पनि दिएको छ। यस सूचना प्रतिलिपि उपमहानगरका नगर प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, सबै २४ वडा कार्यालय तथा सूचना प्रविधि शाखालाई समेत बोधार्थ पठाइएको छ। सूचना प्रविधि शाखालाई यो सूचना उपमहानगरको वेबसाइटमा समेत प्रकाशित गर्न भनिएको छ।