किसान सूचीकरणलाई प्राथमिकता दिंदै जीतपुरसिमरा उपमहानगरपालिका

पछिल्लाे समाचार

०३ जेठ ।सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले कृषकहरूको अधिकार सुनिश्चित गर्दै किसान सूचीकरण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाइरहेको छ। उपमहानगरपालिकाको कृषि शाखाले विभिन्न वडामा चरणबद्ध रूपमा किसान सूचीकरण कार्यान्वयन गरिरहेको छ।

कृषि शाखा प्रमुख अनिस प्याकुरेलका अनुसार, जेठ १ गतेबाट जीतपुरसिमरा–१४ र १५ नम्बर वडामा किसान सूचीकरण कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको हो। उनका अनुसार यसअघि पनि अन्य विभिन्न वडाहरूमा सूचीकरण प्रक्रिया सञ्चालनमा थियो र अब बाँकी वडामा समेत यो क्रमबद्ध रूपमा अघि बढाइनेछ। प्रमुख प्याकुरेलले किसानहरूलाई यथाशीघ्र सूचीकरणमा सहभागी हुन अनुरोध गर्दै भने, “कृषकलाई सरकारले दिने सेवा, सुविधा, अनुदान तथा प्राविधिक सहयोग प्राप्त गर्नको लागि किसान सूचीकरण अनिवार्य छ। यसले किसानको पहिचान कायम गर्न र उनीहरूको समस्यालाई तथ्यांकको आधारमा सम्बोधन गर्न मद्दत पुग्छ।”

के हो किसान सूचीकरण ?


कृषि पेशा तथा व्यवसायमा संलग्न रहेका व्यक्तिहरूका लागि नेपाल सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, बीउविजन, मल तथा प्रविधिक सेवा उपयोग गर्न किसान सूचीकरण संकेत नम्बर अनिवार्य हुन्छ। किसान सूचीकरण सफ्टवेयर प्रणालीमा आवद्ध हुन प्रत्येक कृषकले तोकिएको विवरणहरू जस्तै नाम, ठेगाना, नागरिकता नम्बर, खेती गर्ने जमिनको क्षेत्रफल, उत्पादन हुने बालीको प्रकार लगायतका तथ्यांक प्रणालीमा प्रविष्ट गर्नुपर्छ।

यस प्रक्रिया सहज बनाउन उपमहानगरपालिकाले स्थानीय स्वयंसेवकहरूलाई परिचालन गरेको छ, जसले किसानहरूको विवरण संकलन गरी अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्य गरिरहेका छन्। स्वयंसेवकहरू वडास्तरीय कार्यालयको समन्वयमा घरदैलो कार्यक्रममार्फत कृषकसँग सम्पर्क गरिरहेका छन्।

कृषि शाखा प्रमुख प्याकुरेलका अनुसार, “सूचीकरण भएपछि किसानको सटिक विवरण सरकारले सहजै ट्रयाक गर्न सक्छ, जसले गर्दा योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नेछ। साथै, सूचीबद्ध कृषकलाई प्राथमिकता दिई विभिन्न तालिम, प्रदर्शनी कार्यक्रम, अनुदान तथा राहत वितरण गरिनेछ।”

कृषि शाखाले सबै किसानलाई आवश्यक कागजात सहित सूचीकरणमा सहभागी हुन अनुरोध गरेको छ। उपमहानगरपालिकाको यो पहलले आगामी दिनमा कृषकहरूलाई अझ संगठित, समावेशी र प्रविधिमैत्री बनाउने अपेक्षा लिइएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय