२७ जेठ ,कलैया : सुर्तीजन्य पदार्थ सेवन र लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिमुखिकरण तथा कानुनी पैरवी कार्यक्रम समपन्न भएको छ । मंगलबार कलैया उपमहानगरपालिका स्थित बरेवा दरबार होटलको सभाकक्षमा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिमुखिकरण जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला स्वास्थ्य कार्यालय बाराको संयुक्त आयोजनामा सम्पन्न भएको छ।
बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सहभागिता जनाएका थिए। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागुऔषध तथा सुर्तीजन्य पदार्थका कारण समाजमा भयावह अवस्था सिर्जना भइरहेको उल्लेख गर्दै सबै सरोकारवालाबीच समन्वयात्मक पहल आवश्यक रहेको बताए। “यो समस्या समाधानका लागि प्रशासन, स्थानीय तह, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र तथा आम नागरिक सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ,” प्रजिअ अधिकारीले भने।स्वास्थ्य कार्यालय बारा प्रमुख रामनरेश यादवले पसल व्यवसायीलाई विद्यार्थीलाई सुर्तीजन्य पदार्थ नबेच्न आग्रह गर्दै लागुऔषध प्रयोगकर्ताले बढी आपराधिक गतिविधिमा संलग्न हुने भएकाले यसलाई न्यूनीकरण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए।
कार्यक्रममा कलैया उपमहानगरपालिका नगरप्रमुख विनोद साहले अभिभावक नै प्रायः सुर्तीजन्य पदार्थ सेवनकर्ता भएको कारणले गर्दा बच्चाहरुमा पनि यसको असर परेको बताए। “क्यान्सर जस्ता रोग लागेपछि अभिभावक मृत्यु हुने र उनका बालबालिका बेसहारा बन्ने अवस्था देखिएको छ,” उनले भने। उनले अभिभावकको कमजोरीकै कारण बालबालिकामा दुर्व्यसन बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरे।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका सहायक प्रहरी निरीक्षक रन्जन साहले लागुऔषध नियन्त्रण तथा सुर्तीजन्य पदार्थसँग सम्बन्धित वर्तमान अवस्था र कानुनी व्यवस्थामाथि प्रस्तुतीकरण गरेका थिए।
विद्यार्थी जागरण मञ्चका प्रतिनिधि अनोज खडकाले नेपालमा २२ प्रतिशत लागुऔषध प्रयोगकर्ता विद्यार्थी भएको तथ्यांक प्रस्तुत गर्दै विश्वव्यापी अवस्था र त्यसको असरबारे जानकारी गराए। “कलैया उपमहानगरमा मात्रै ६१८ जना सेवकर्तामध्ये १३६ जना विद्यार्थी छन्,” खडकाले भने।
स्वास्थ्य क्षेत्रमा प्रतिनिधित्व गर्दै जीतपुरसिमरा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रवि कुमार भास्करले सुर्तीजन्य पदार्थका असर र अवस्थामाथि प्रकाश पारे। उनले नेपालमा २२ प्रतिशत पुरुष र ५ प्रतिशत महिला सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको उल्लेख गरे। “प्रत्येक वर्ष सुर्तीजन्य पदार्थकै कारण २७ हजारभन्दा बढीको ज्यान जाने गरेको छ,” भास्करले चेतावनी दिए। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला, विद्यालयका प्रतिनिधि, युवाहरू तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो।