२८ जेठ ,सिमरा : बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत हरपुरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिती बाराले २० औं स्थापना दिवस विशेष विविध कार्यक्रम गरी सम्पन्न गरेको छ।महासंघका जिल्ला अध्यक्ष जितन ठाकुरको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा रक्तदानदेखि लिएर आँखा, कान र घाटीसम्बन्धी स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चौधरीले गर्नुभएको थियो।नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, हरपुरमा सम्पन्न रक्तदान कार्यक्रममा ३५ जना पुरुष र ५ जना महिलासहित ४१ जनाले रक्तदान गरेका थिए।
त्यस्तै, १०५ जनाले आँखा परीक्षण गराएका थिए भने ४५ जनाले कान र घाटीको चेकजाँच गराएका थिए।अध्यक्ष जितन ठाकुरका अनुसार, “स्थापना दिवसमा स्वास्थ्य सचेतना र सेवा विस्तार गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो।”मुख्य अतिथि देवनारायण चौधरीले स्वास्थ्यकर्मीहरूको सेवा भावना र सामाजिक उत्तरदायित्वको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासका लागि यस्ता जनहितका कार्यक्रमहरू नितान्त आवश्यक छन्।
जनस्तरसम्म सेवा पुर्याउने यस्ता पहलले समाजमा सकारात्मक सन्देश दिन्छ।”त्यस्तै, नगर उपप्रमुख भोला प्रसाद अधिकारीले स्थानीय सरकार सधैं यस्ता सामाजिक कार्यमा साथ दिन तयार रहेको उल्लेख गर्नुभयो। उहाँले भने, “स्वास्थ्यकर्मीहरूको नेतृत्वमा सञ्चालित शिविरले नगरवासीलाई राहत पुर्याएको छ। नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई आवश्यक सहयोग पुर्याइनेछ।”स्थानीय बासिन्दाहरूले पनि स्वास्थ्य सेवा आफैंको घर आँगनमै पाउँदा खुसी व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी अधिकांशले यस किसिमको नियमित स्वास्थ्य शिविरको आवश्यकता औंल्याएका थिए।राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाराले आगामी दिनमा पनि स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने कार्यलाई प्राथमिकता दिने जनाएको छ।