२९ जेठ, काठमाडौं । भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको विमानमा एक जना यात्रु जीवितै उद्दार गरिएको छ । यसअघि विमानमा सवार सबै २४२ यात्रुको ज्यान गएको स्थानीय प्रशासनले पुष्टि गरे तापनि एक जना यात्रु जीवितै फेला परेका हुन् ।भारतीय सञ्चारमाध्यम न्यूज१८ का अनुसार, अहमदाबाद प्रहरी प्रमुखले आफ्नो अघिल्लो अभिव्यक्ति सच्याउँदै भनेका छन्, ‘मेरो अघिल्लो भनाइ गलत रूपमा उद्धृत गरिएको थियो, एक जना व्यक्ति जीवित भेटिएका छन् । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।’दुर्घटनाबाट बचेका ती व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश भएको जनाइएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।
भारतमा आफ्ना आफन्त भेट्न आएका विश्वास आफ्नो दाजु अजयकुमार रमेशसँगै बेलायत फर्किंदै थिए ।एयर इण्डियाको विमान अहमदाबादबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलतर्फ उडेको केही समयमै दुर्घटनामा परेको हो । विमानस्थल नजिकैको चिकित्सकहरूको आवासीय क्षेत्रमा खस्दा भवनमा रहेका मानिसहरू समेत गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार, दुर्घटनामा परेका अन्य यात्रुहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ । घटनास्थलबाट प्राप्त तस्वीर तथा भिडियोहरूमा विमानका भागहरू होस्टल भवन वरिपरि छरिएको देखिन्छ । केही तस्बिरहरूमा विमानको पुच्छर भवनको छतमा अड्किएको देखिन्छ ।एयर इण्डियाका अनुसार, उक्त विमानमा ११ जना बालबालिकासहित कुल २४२ जना सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज तथा १ जना क्यानाडेली नागरिक थिए । रमेशबाहेक सबैको मृत्यु भएको बताइएको छ ।
भारतको अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ उडेको एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो उडेको केही समयमै दुर्घटनामा परेको हो । विमानमा दुई जना पाइलट, १० जना केबिन क्रु सदस्यसहित जम्मा २४२ जना सवार थिए ।भारतका केन्द्रीय गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेका छन् भने अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रूपमा पुनः सञ्चालनमा आइसकेको छ ।अहमदाबाद सिभिल अस्पतालको ट्रमा सेन्टरमा दुर्घटनामा परी गम्भीर रूपमा जलेका शवहरू ल्याइएका छन् । धेरै शवहरू यति जलेका छन् कि पहिचान गर्न कठिन भएको अस्पताल स्रोतले जनाएको छ ।
यसैबीच टाटाले मृतकका परिवारलाई राहतस्वरूप १-१ करोड रूपैयाँ दिने बताएको छ । एयर इण्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान संख्या एआई१७१ एक दुर्घटनामा परेको छ । अहिले हामी थप विवरण संकलन गर्दैछौं र यथासिघ्र जानकारी दिनेछौं ।’ एयर इण्डियाले यात्रु र आफन्तका लागि समर्पित हेल्पलाइन नम्बर १८०० ५६९१ ४४४ सञ्चालनमा ल्याएको छ ।एयर इण्डियाको स्वामित्वकर्ता टाटा समूहले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई १ करोड भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।मेघानीनगरस्थित बीजे मेडिकल कलेज र सिभिल अस्पतालको छात्रावासमा एयर इण्डियाको विमान ठोक्किँदा ठूलो क्षति पुगेको छ । प्रारम्भिक रिपोर्टहरू अनुसार कम्तीमा २० जना मेडिकल विद्यार्थी घाइते भएका छन् ।
पीटीआई समाचार एजेन्सीले उद्धृत गरेको एक प्रत्यक्षदर्शीका अनुसार विमान छात्रावासको डाइनिङ हलमा खसेको थियो, जहाँ धेरै विद्यार्थी उपस्थित थिए । उनीहरू मध्ये धेरैजना घाइते भएका छन् र अस्पताल लगिएको छ । प्रत्यक्षदर्शी हरेश शाहका अनुसार त्यहाँ पाँच तल्ले आवासीय भवनहरू छन् । ती भवनहरूमा पनि आगलागी भएको थियो र भित्र रहेका धेरै मानिसहरू घाइते भएका छन् ।